रुपन्देही डायरी

माघ १४, २०७९ | रुपन्देही

रुपन्देहीको देवदह नगरपालिकाद्वारा सञ्चालित देवदह नगर अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता भएको छ । स्वास्थ्य बीमा गरेका नगरबासीलाई नगर अस्पतालबाटै बीमा वापत पाइने निःशुल्क उपचार, ल्याब परीक्षण र औषधि नगर अस्पतालबाटै उपलब्ध गराउन नगरपालिकाले सम्झौता गरेको हो । नगरप्रमुख ध्रुव खरेल, नगर अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा. संज्ञा सेन सहितको टोली तथा बीमा बोर्डका वरिष्ठ जनस्वास्थ्य प्रमुख शम्भुप्रसाद ज्ञवाली र उपसचिव बाबुराम खनालबीच बीमा बोर्डको कार्यालयमा सम्झौतापत्र आदानपत्र भएको छ ।

नेपाल पुनः प्रयोग योग्य वस्तु व्यवसायी संघ रुपन्देहीको पदस्थापन तथा सपथ कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । सो अवसरमा व्यवसायीले छुट्टै र व्यवस्थित ठाउंँको व्यवस्थापनका लागि माग गरेका छन् । बजारमा दैनिक रुपमा उत्पादन हुने फोहरजन्य वस्तुलाई पुनः प्रयोग गर्नेगरी संकलन गरी सरसफाई व्यवस्थापनमा सहयोग गरेको भन्दै व्यवसायीले यो पेशालाई मर्यादित पेसाको रुपमा हेर्न समेत आग्रह गरे । पुनः प्रयोगजन्य वस्तुको संकलन तथा बिक्री वितरण गर्ने क्रममा स्थानीय सरकारले लगाउने कर अवैज्ञानिक भएका कारण एउटै व्यवसायीले एक बस्तुका लागि ठाउामा कर तिर्नु पर्ने बाध्यताको अन्त्य गर्न उनीहरुले माग गरे ।

नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय समिति बैठक रुपन्देहीमा हुने भएको छ । निजामती कर्मचारीका हकहित र समसामयिक सवालमा छलफल गर्न संगठनले यही माघ २७ र २८ गते रुपन्देहीमा केन्द्रीय कार्य समितिको बैठक बस्ने भएको हो । संगठन रुपन्देहीका अध्यक्ष प्रेम प्रसाद खनालका अनुसार दुई दिन बस्ने बैठकको पूर्व सन्ध्यामा माघ २६ गते संगठनको सचिवालय बैठक समेत बस्ने गरी संगठनको केन्द्रीय पदाधिकारीको बैठकबाट निर्णय भएको हो ।

रुपन्देहीको बुटवलमा अक्सिजन सुविधा सहितका दुई वटा स्वास्थ्य केन्द्र निर्माण हुने भएको छ । बुटवल उपमहानगरपालिका–१७ मोतीपुर र वडा नम्बर–१३ को बेलबासमा १६/१६ शय्याका अक्सिजन सुविधा सहितका स्वास्थ्य केन्द्र बन्ने भएको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले वडा नम्बर–१७ को मोतीपुरमा शुक्रबार एक कार्यक्रमबीच स्वास्थ्य केन्द्रको शिलान्याश गरेसँगै निर्माण सुरु भएको हो । उपमहानगर प्रमुख पाण्डेयले मोतीपुरमा स्वास्थ्य केन्द्र निर्माण भएपछि बुटवलको वडा नम्बर १७, १८ र १९ का बासिन्दा लाभान्वित हुने बताउनुभयो । तिनाउ पूर्व र पश्चिमका बस्तीको समान विकासका लागि मोतीपुरमा स्वास्थ्य केन्द्र निर्माण थालिएको उहाँले बताउनुभयो । 


प्रतिक्रिया