मकवानपुर डायरी

माघ १८, २०७९ | हेटौंडा

वाग्मती प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरेको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको नेतृत्वमा बनेको नवगठित सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरेको हो । सरकारले खर्च कटौती गर्ने योजना अगाडि बढाएको र त्यसका लागि कार्यदल समेत गठन गरेको छ । कार्यदलले प्रतिवेदन दिएसँगै न्यूनतम साझा कार्यक्रम तय गर्ने मुखयमन्त्रीको सचिवालयले जनाएको छ । सत्तारुढ नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपालाई आन्तरिकरुपमा न्यूनतम साझा कार्यक्रमको तयारी गर्न समेत प्रदेश सरकारले निर्देशन दिइसकेको छ ।

हेटौंडा उपमहानगरपालिकाले एकै पटकमा ७१ जना कर्मचारीलाई सेवाबाट हटाएको छ । उपमहानगरले विभिन्न समयमा विज्ञापन प्रकाशन नै नगरी आन्तरिकरुपमा नियुक्त गरेका करार र ज्यालादारीका कर्मचारी हटाइएको हो । अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगको निर्देशन तथा उपमहानगरको कार्यपालिका र नगरसभाबाटै गरिएको निर्णय लागू भएसँगै उनीहरु सेवाबाट बाहिरिएका हुन् । सेवाबाट बाहिरिनेमा स्वास्थ्य शाखाका कर्मचारी धेरै छन् । इञ्जिनियरदेखि सहायक चौथो स्तरसम्मका स्वास्थ्य, योजना, प्रशासन शाखामा उनीहरुले मेयरको तोकबाट सेवामा प्रवेश गरेका थिए । उपमहानगरका मेयर मीनाकुमारी लामा र पूर्वमेयर हरिबहादुर महतको तोकबाट उनीहरुले जागिर खाएका थिए ।

वाग्मती प्रदेशको आम्दानी चालु आवको ६ महिनामा आम्दानी घटेको छ । गत आवको तुलनामा चालु आव ०७९/८० को ६ महिनामा प्रदेश सरकारको खर्च बढ्दा आम्दानी भने घटेको हो । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्म सरकारको बजेट खर्च १५ दशमलव ७८ प्रतिशत रहेको छ । चालु आवमा ७० अर्ब ९३ करोड ९२ लाख ९१ हजार रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले ६ महिनामा ११ अर्ब १९ करोड ६७ लाख ८० हजार ४ सय २२ रुपैयाँ खर्च गरेको छ । ६ महिनाको अवधिमा सरकारले १६ अर्ब १५ करोड रूपैयाँ राजश्व संकलन गरेको छ । चालू आवको ६ महिनामा यो राजश्व संकलन सरकारको खर्चभन्दा बढी देखिए पनि गत आवको तुलनामा भने कम हो । 

लायन्स क्लबको आयोजनामानिःशुल्क आँखा परीक्षण शिविर अन्तर्गत् मकवानपुर र बारा जिल्लामा शिविर भएको छ । मकवानपुरको वाग्मती गाउँपालिकाको फापरबारीमा, बारा जिल्लाको भादाह र बाराकै इनवसीरामा शिविर भएको हो । मकवानपुरको वाग्मतीमा भएको शिविरमा २ सय ११ जनाको आँखा परीक्षण गर्दा २३ जनामा मोतिविन्दु देखिएको छ । बारा जिल्लाको भादाहमा भएको शिविरमा २ सय ८२ जनाको परीक्षण गर्दा ७२ जनामा मोतिविन्दु र बाराकै इनवसीरामा भएको शिविरमा २ सय ८६ जनाको परीक्षण गरिएकोमा ५० जनामा मोतिविन्दु पाइएको छ । मोतिविन्दु देखिएकाहरुलाई हेटौंडा सामुदायिक आाखा अस्पतालमा ल्याइने र शुक्रबार शल्यक्रिया गरिने कार्यक्रम संयोजक अमित शर्माले जानकारी दिए । नेत्र स्वास्थ्य विशेषज्ञ डा. सन्दुक रुइत नेतृत्वको टोलीले आँखाको परीक्षण गरेको हो ।


प्रतिक्रिया