सुख्खा बन्दरगाह निर्माण गर्न नेपाल - चीनबीच सम्झौता

वैशाख ३०, २०७६ | रसुवा

रसुवाको टिमुरेमा सुख्खा बन्दरगाह निर्माण गर्नको लागि नेपाल र चीनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । इन्टरमोडल यातायात विकास समिति र चिनियाँ निर्माण कम्पनीबीच सुख्खा बन्दरगाह निर्माण सम्झौता पत्रमा आइतबार हस्ताक्षर भएको इन्टरमोडल यातायात विकास समितिका सिभिल इन्जिनियर प्रमोद आचार्यले बताउनुभयो ।

अबको एक महिना भित्र निर्माणको काम सुरु हुने उहाँले बताउनुभयो । सुख्खा बन्दरगाह निर्माण गर्न चीन सरकारका तर्फबाट तिबेत फूली कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड छनौट भएको छ । नेपाल सरकारका तर्फबाट नेपाल इन्टरमोडल यातायात विकास समितिका उपनिर्देशक हरेकृष्ण मिश्र र निर्माण कम्पनीका तर्फबाट प्रोजेक्ट म्यानेजर याङ्ग इनलिनले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

दी आर्किटेक्चरल रिकोनाइसेन्स एण्ड डिजाइन इन्स्टिच्युट अफ तिब्बेट अटोनोमस रिजन कम्पनीले टिमुरेमा निर्माण हुने सुख्खा बन्दरगाहको लागत स्टमेट सहितको फाइनल डिजाइन तयार पारेको हो । लगत स्टमेट सहितको फाइनल डिजाइन तयार गर्नको लागि चीनको छेन्दुमा नेपाल सरकार र चीन सरकारबीच सन् २०१८ जनवरी १५ मा डिजाइन पत्र स्वीकृत गरी हस्ताक्षर भएको थियो ।

चीन सरकारको सहयोगमा निर्माण हुन लागेको यो सुख्खा बन्दरगाह उत्तरी नाकामा दोश्रो हो । नेपाल र चीनबीच हुने दुई पक्षीय तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्नका लागि रसुवाको टिमुरेमा सुख्खा बन्दरगाह निर्माण हुन लागेको हो । टिमुरेमा बन्ने सुख्खा बन्दरगाह आधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको हुनेछ ।

सुख्खा बन्दरगाह रसुवागढी नाकाबाट साढे दुई किलोमिटर वर टिमुरेमा निर्माण हुनेछ । बन्दरगाह निर्माणमा चीन सरकारको आर्थिक र प्राविधिक सहयोग हुनेछ । सुख्खा बन्दरगाह निर्माणको लागत करीब १२ करोड ४० लाख चिनियाँ युआन रहेको छ ।

निर्माण कार्य काम सुरु गरेको ३० महिनामा सम्पन्न गर्ने चिनियाँ निर्माण कम्पनीले बताएको छ । नेपाल र चीनबीच भएको सम्झौता अनुसार चिनियाँ पक्षले सुख्खा बन्दरगाह निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । चीन सरकारले सन् २०१४ मा बन्दरगाह बनाउन प्रारम्भिक सहमति जनाएको थियो ।

बन्दरगाह ८ दशमलव ५ हेक्टर क्षेत्रफलमा निर्माण हुनेछ । संरचना निर्माणका लागि लाङ्टाङ राष्ट्रिय निकुञ्जबाट ५ र सर्वसाधाणको ३.५ हेक्टर जमिन अधिग्रहण गर्ने काम भइसकेको छ । सो बन्दरगाहमा ५ हजार स्क्वायर वर्गमिटरको सुविधा सम्पन्न ५ तले जाँचपास भवन निर्माण हुनेछ । भवनमा भन्सारको लागि अफिस र क्वाटर सहितको दुवै सुविधा हुनेछ । त्यसमा प्रशासनिक कार्यकक्ष, क्वारेनटाइन, बैंक, ल्याब, सुरक्षा लगायतका कार्यालयहरू रहने छन् ।

बन्दरगाहमा ३ सय ५० भन्दा बढी ट्रक तथा कन्टेनरहरू राख्न सकिने पार्किङ स्थल निर्माण हुने आचार्यले बताउनुभयो । २ वटा जाँचपास कक्ष, कार्गो गोदाम, लिटिगेशन गोदाम सहितको आधुनिक सुविधा सम्पन्न सुख्खा बन्दरगाह निर्माण हुनेछ । रसुवागढी नाका हुँंदै चीनबाट आयात हुने वस्तु यसै बन्दरगाह मार्फत नेपाल भित्रिने छ । चीनले पनि आफ्नो भूभाग रसुवागढी नाकाबाट करीब ३० किलोमिटर टाढा केरुङमाथि पाङसिङमा आधुनिक बन्दरगाह निर्माण गर्ने बताएको छ ।

चीनको सिगात्सेदेखि केरुङसम्मको दूरी करीब ४ सय ५० किमि छ । चीनले सन् २०२३ सम्म केरुङलाई रेल सञ्जालबाट जोड्ने लक्ष्य राखेको छ । पछिल्लो समय चीनसंग स्थल मार्गबाट यहि नाका हुँंदै व्यापार भइरहेको छ । चीन सँगको प्रमुख व्यापारीक नाका भएकाले यसको व्यावसायिक महत्व बढ्दै गएको छ ।

 रेलबाट ल्याएको सामानलाई सीधै ट्रकमा लोड गरी सुख्खा बन्दरगाहमा ल्याएर आवश्यक प्रक्रिया पूरा गर्न सजिलो हुने हुनेछ । रसुवागढी नाकाबाट स्याफ्रु, मैलुङ, त्रिशूली, गल्छी हुंदै दक्षिण एसिया जोड्ने सबै भन्दा छोटो रुटको सडक निर्माण गर्ने काम भइरहेको छ ।  


प्रतिक्रिया