फक्रियो ‘सयपत्री’

कार्तिक ६, २०७६ | सिरहा

तराई मधेसका नर्सरी खेतमा ‘सयपत्री’ ढकमक्क फुलेका छन् । बढी फूल खपत हुने समय तिहार, छठ लगायत चाडपर्वलाई लक्षित गरी हुर्काएका ‘सयपत्री’ ले नर्सरीको शोभा बढाएको छ, भने यस व्यवसायमा संलग्नको राम्रो आम्दानीको स्रोत समेत बनेको छ ।

तिहार, छठ पर्वलाई लक्षित गरी १० कठ्ठा जग्गामा व्यवसायिक ‘सयपत्री’ फूल खेती गरेका सिरहा धनगढीमाई १० जिरोमाइलका सुरेश महतो यत्तिबेला फूलको स्याहारमा तल्लिन छन् । बारीमा ढकमक्क फूलेका सयपत्रीलाई अझ फस्टाउने बनाउन भिटामिन छरिरहेका ४४ वर्षीय सुरेश यही सीजनमा ५ लाख रुपैयाँ आम्दानी लिने सुरमा छन् । 

साउनमा रोपेको सयपत्री तिहारका लागि तयारी छन् । ‘एक पटक रोपेको सयपत्री माघसम्म फक्रिन्छ’ बीएड अध्ययन पछि १० वर्षदेखि नर्सरी व्यवसायमा संलग्न उनले भने ‘सयपत्रीबाट मात्रै ५ लाख रुपैयाँ आम्दानी हुन्छ, बिरुवा उत्पादन देखि लागत १ लाख रुपैयाँ लागेको छ ।’ बैशाख जेठमा सयपत्री रोपिसक्नुपर्ने भएपनि यसवर्ष वर्षाका कारण ढिलाई भएपनि आम्दानी नघट्ने उनले सुनाए । सयपत्री हुर्काउन उनले ३ जनालाई रोजगारी समेत दिएका छन् ।

सुरेश मात्र होइन केही वर्ष अगाडिसम्म सानो बजारको रुपमा रहेको पूर्व पश्चिम राजमार्गमा अवस्थित जिरोमाइल अब नर्सरीको ‘हब’ नै बनेको छ । त्यसक्षेत्रलाई अहिले ‘सयपत्री’ र ‘मखमलीले ढकमक्क ढाँकेको छ । ‘अरु बेला त आँप लिची लगायत अन्य प्रजातीको बिरुवा उत्पादन गर्छौं तर, सिजनका बेला हामीले लगाउने भनेको ‘सयपत्री’ र ‘मखमली’ फूल नै हो’ श्रीदेव नर्सरीका सञ्चालक श्रीदेव चौधरीले भने ‘विजयादशमी, तिहार र छठ पर्वसम्मलाई पुग्ने जतिसुकै फूल हामी उपलब्ध गराउन सक्छौं ।’ उनले यसपालिको सिजनमा डेढ बिघा जग्गामा फूल खेती गरेका छन् । 

नर्सरीमात्र होइन विजया दशमी देखि तिहारसम्म चाहिने फूलको माग धान्न जिरोमाइलमा अलि अलि खेतजग्गा हुनेले तरकारीको साटो फूलको नै खेती गरेको पाइन्छ । नर्सरी व्यवसायीका अनुसार तिहारको संस्कृतिमा मौलाएको सयपत्री फूल आजभोलि सर्वव्यापी पुष्प सामग्री बनिसकेको छ । सभा, गोष्ठी, स्वागत, विदाइ, सम्मान, अभिनन्दन मात्र होइन श्रद्धाञ्जलीमा समेत सयपत्रीले आफ्नो आधिपत्य जमाइसकेकाले यो फूलको बाह्रैमास माग भएको नर्सरी व्यवसायी सुरेशले बताए ।

‘सयपत्री फूल नेपालको प्रसिद्ध फूल हो’ उनले भने ‘१७ औं शताब्दीदेखि प्रयोगमा आएको सयपत्री फूल सिजनमा हामी पाँच सय रुपैयाँ प्रतिकिलोसम्म बिक्री गर्छौं ।’ सयपत्रीका जानकारका अनुसार सबैखाले सयपत्रीको उदगम थलो संयुक्त राज्य अमेरिकाको दक्षिणी भू–भाग, मेक्सिको तथा दक्षिण अमेरिकी महादेश हो । ती क्षेत्रमा १५ प्रजातीका सयपत्री भेटिए पनि रुप, रंग, गुण र स्वभावले गर्दा दुई प्रजातीका सयपत्री छन् । 

‘हाम्रो संस्कार र संस्कृतिभित्र परापूर्वकाल देखि गहिरो सम्बन्ध गाँसेर सयपत्री बसेकाले यस फूललाई अब संस्कृति फूल भन्दा पनि हुन्छ’ ७४ वर्षीय नर्सरी व्यवसायी श्रीदेव चौधरी भन्छन् ‘पूजा कर्म, बिहेबारी देखि मृत्यु संस्कारसम्म यसको प्रयोग हुने भएकाले सिजनमा यसको माग धान्न हामीलाई गाह्रो पर्छ ।’ पुष्प व्यवसायीहरु एउटै भेट्नोमाथि फक्रेको सयपत्रीको प्रत्येक पत्र स्वयंमा पृथक भएकाले यसलाई सयौं फूलको पुष्पपुञ्ज समेत मान्छन् ।

त्यसो त सिरहा मात्र होइन, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, वीरगञ्ज, विराटनगर हुँदै काभ्रेसम्म ठूलो मात्रामा जाने विभिन्न प्रजातीको बिरुवा र फूलको अधिकांश भाग जिरोमाइलकै नर्सरीहरुले आपूर्ति धान्ने गरेको छ । जिरोमाइल र आसपास क्षेत्रमै ४० भन्दा बढी ठूलासाना नर्सरी सञ्चालित छन् ।

पूजा र सजावटदेखि घाँटीमा माल लगाउन प्रयोग हुने सयपत्री लगायत विभिन्न प्रजातीको फूलको माग बढ्दै गएपनि नेपालमा त्यही अनुसारको उत्पादन नहुँदा वर्षेनी १० करोड रुपैयाँ भन्दा धेरैको फूल आयात भइरहेको फ्लोरिकल्चर एशोसिएसन अफ नेपालले जनाएको छ । एशोसिएसनका अनुसार सयपत्री फूलको निर्यात बढाउन पिगमेन्ट उद्योग स्थापनाका लागि तराईका तीन, पहाडका ५ र उच्च हिमालका २ गरी १० जिल्लामा उद्योग स्थापनाका लागि परीक्षण समेत थालिएको छ । 

जिरोमाइलका कृषकहरुको नर्सरी खेतीप्रतिको आकर्षण देखेर धनगढीमाई नगरपालिकाले यस क्षेत्रलाई फूलको ‘हब’कै रुपमा विकास गर्ने लक्ष्य लिएको छ । यहाँ रहेका करीब दुई दर्जन फलफूल नर्सरीहरुमध्ये गुणात्मक फलफूल उत्पादन गर्ने नर्सरीलाई नगरपालिकाले प्रत्येक वर्ष सम्मान र पुरस्कृत गर्ने योजना बनाएको छ । यो योजना नगरपालिकाले ल्याएपछि अहिले जिरोमाइलको सडक छेउका बाँझो जमिनहरु समेत विभिन्न प्रजातीका फूलले सजिएका छन् ।


प्रतिक्रिया