टिमुरेमा निर्माण हुने सुख्खा बन्दरगाहको शिलान्यास

मंसिर ४, २०७६ | रसुवा

रसुवाको टिमुरेमा निर्माण हुन लागेको सुख्खा बन्दरगाहको बुधबार शिलान्यास गरिएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव पार्वती अर्याल र इन्टरनेशनल इकोनोमिक एक्सचेन्ज सर्भिस सेन्टर अफ तिब्बत कर्मश डिर्पामेन्ट अफ चाइनाका निर्देशक बीन चेनले संयुक्त रुपमा सुख्खा बन्दरगाहको शिलान्यस गरेका हुन् ।

बन्दरगाह निर्माण गर्नको लागि करीब ६ महिना अघिनै निर्माण कम्पनीसँग सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । गत बैशाख २९ गते इन्टर मोडल यातायात विकास समिति र चिनियाँ निर्माण कम्पनीबीच सुख्खा बन्दरगाह निर्माण गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

बुधबार शिलान्यास पछि औपचारिक रुपमा बन्दरगाह निर्माणको काम सुरु भएको इन्टर मोडल यातायात विकास समितिका सिभिल इन्जिनियर प्रमोद आचार्यले बताउनुभयो । सुख्खा बन्दरगाह निर्माण गर्न चीन सरकारका तर्फबाट तिब्बत फूली कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड छनोट भएको छ । 

सुख्खा बन्दरगाह रसुवागढी नाकाबाट साढे दुई किलोमिटर पर टिमुरेमा निर्माण हुनेछ । बन्दरगाह निर्माणमा चीन सरकारको आर्थिक र प्राविधिक सहयोग हुनेछ । नेपाल र चीनबीच भएको सम्झौता अनुसार चिनियाँ पक्षले सुख्खा बन्दरगाह निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । सुख्खा बन्दरगाह निर्माणको लागत करीब १२ करोड ४० लाख चिनियाँ युआन रहेको छ ।

निर्माण कार्य सुरु गरेको ३० महिनामा सम्पन्न गर्ने चिनियाँ निर्माण कम्पनीले बताएको छ । टिमुरेमा बन्ने सुख्खा बन्दरगाह आधुनिक सुविधा सम्पन्न र अन्तर्राष्ट्रिय स्तरको हुनेछ । चीन सरकारले सन् २०१४ मा बन्दरगाह बनाउन प्रारम्भिक सहमति जनाएको थियो । दी आर्किटेक्चरल रिकोनाइसेन्स एण्ड डिजाइन इन्स्टिच्युट अफ टिबेट अटोनोमस रिजन कम्पनीले टिमुरेमा निर्माण हुने सुख्खा बन्दरगाहको लागत अनुमान सहितको फाइनल डिजाइन तयार पारेको हो ।

लगत अनुमान सहितको फाइनल डिजाइन तयार गर्नको लागि चीनको छेन्दुमा नेपाल सरकार र चीन सरकार बीच सन् २०१८ जनवरी १५ मा डिजाइन पत्र स्वीकृत गरी हस्ताक्षर भएको थियो । चीन सरकारको अनुदान सहयोगमा निर्माण हुन लागेको यो सुख्खा बन्दरगाह उत्तरी नाकामा दोश्रो हो । नेपाल र चीनबीच हुने दुई पक्षीय तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्नका लागि रसुवाको टिमुरेमा सुख्खा बन्दरगाह निर्माण हुन लागेको हो ।

बन्दरगाह ८.५ हेक्टर क्षेत्रफलमा निर्माण हुनेछ । संरचना निर्माणका लागि लाङटाङ राष्ट्रिय निकुञ्जबाट ५ र सर्वसाधाणको ३.५ हेक्टर जमिन अधिग्रहण गर्ने काम भइसकेको छ । केही स्थानीयले भने मुआब्जा पाउँन बाँकी रहेको बताएका छन् । मुआब्ना पाँन बाँकी रहेकाहरुको हकमा पनि प्रक्रिया अगाडि बढाएको इन्टर मोडल यातायात विकास समितिले बताएको छ ।

उक्त बन्दरगाहमा ५ हजार स्क्वायर वर्गमिटरको सुविधा सम्पन्न ५ तले जाँचपास भवन निर्माण हुनेछ । भवनमा भन्सारको लागि अफिस र क्वाटर सहितको दुबै सुविधा हुनेछ । त्यसमा प्रशासनिक कार्यकक्ष, क्वारेनटाइन, बैंक, ल्याब, सुरक्षा लगायतका कार्यालयहरू रहने छन् । बन्दरगाहमा ३ सय ५० भन्दा बढी ट्रक तथा कन्टेनरहरू राख्न सकिने पार्किङ स्थल निर्माण हुने आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुई वटा जाँचपास कक्ष, कार्गो गोदाम, लिटिगेशन गोदाम सहितको आधुनिक सुविधा सम्पन्न सुख्खा बन्दरगाह निर्माण हुनेछ ।’ 

रसुवागढी नाका हुंदै चीनबाट आयात हुने वस्तु यसै बन्दरगाह मार्फत नेपाल भित्रिने छ । चीनले पनि आफ्नो भूभाग रसुवागढी नाकाबाट करीब ३० किलोमिटर टाढा केरुङमाथि पाङसिङमा आधुनिक बन्दरगाह निर्माण गरिरहेको छ । चीनको सिगात्सेदेखि केरुङसम्मको दूरी करीब ४ सय ५० किमि टाढा रहेको छ । चीनले सन् २०२२ सम्म केरुङलाई रेल सञ्जालबाट जोड्ने लक्ष्य राखेको छ ।

पछिल्लो समय चीनसँग स्थल मार्गबाट यहि नाका हुँदै व्यापार भइरहेको छ । चीनसँगको प्रमुख व्यापारीक नाका भएकाले यसको व्यावसायिक महत्व बढदै गएको छ । रेलबाट ल्याएको सामानलाई सीधै ट्रकमा लोड गरी सुख्खा बन्दरगाहमा ल्याएर आवश्यक प्रक्रिया पूरा गर्न सजिलो हुनेछ । रसुवागढी नाकाबाट स्याफ्रु, मैलुङ, त्रिशूली, गल्छी हुँदै दक्षिण एसिया जोड्ने सबैभन्दा छोटो रुटको सडक निर्माण गर्ने काम भइरहेको छ । 


प्रतिक्रिया