नेप्सेमा ७६ करोड रुपैयाँ बराबरको कारोबार

मंसिर २६, २०७६ | काठमाडौं

कारोबार हुने साताको अन्तिम दिन धितोपत्र बजारमा ७६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । दोहोरो अंकले उकालो लागेको धितोपत्र बजारमा आज ७६ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बजार परिसूचक नेप्से आज ११ दशमलव १७ अंकले उकालो लागेर १ हजार १ सय ७२ दशमलव ९७ बिन्दुमा पुगेको छ । 

नेप्से उकालो लागेसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा २१ करोड रुपैयाँले वृद्धि भएको छ । १० अंकले उकालो लागेको नेप्सेमा हिजो ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । निर्जीवन बीमा र बीमा कम्पनी समूहको उपसूचक अत्यधिक अंकले उकालो लागेकाले कारोबार रकममा पनि वृद्धि भएको हो ।

सबै भन्दा बढी निर्जीवन बीमा कम्पनी समूहको उपसूचक ३ सय ३२ दशमलव ४ अंकले बढेको छ । यस्तै, जीवन बीमा कम्पनी समूहको उपसूचक २ सय ७८ दशमलव ६८ अंकले बढेको छ । कारोबार भएका व्यापार, होटल, उत्पादनमूलक, अन्य र लघुवित्त कम्पनी समूहको उपसूचकमा गिरावट आएको छ ।

नेप्सेमा आज कुल १ सय ६८ कम्पनीका १० हजार १ सय ४६ कारोबारबाट २१ लाख २ हजार ६१ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 


प्रतिक्रिया