ह्याचरी उद्योगले १० दिनसम्म चल्ला उत्पादन बन्द गर्ने

मंसिर २८, २०७६ | चितवन

मासुका लागि पालिने ब्रोइलर कुखुराका चल्ला १० दिनसम्म उत्पादन नहुने भएको छ । चल्ला उत्पादन गर्ने उद्योगीहरुको संस्था नेपाल ह्याचरी उद्योग संघ केन्द्रीय समितिको भेलाले यस्तो निर्णय गरेको हो । शनिबार बिहान भरतपुरमा पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष टीकाराम पोखरेलले माग भन्दा उत्पादन बढी भएको र मूल्य पनि नआएका कारण यस्तो निर्णय गरेको बताउनुभयो । 

मंसिर २९ गतेदेखि १० दिनसम्म कुनै पनि ह्याचरीले ब्रोइलर र कलर ब्रोइलर कुखुराका चल्ला उत्पादन नगर्ने निर्णय भएको अध्यक्ष पोखरेलले बताउनुभयो । भेलामा देशभरबाट जम्मा भएका १ सय ५० जना उद्योगीहरुले एकमतले यो निर्णय गरेको उहाँले बताउनुभयो । 

नेपालमा हाल प्रति हप्ता ब्रोइलरका ४५ लाख र कलर ब्रोइलरका एक लाख ७० हजार चल्ला उत्पादन भइरहेको संघको तथ्याङ्क छ । चल्ला उत्पादन नगर्ने भनेका कारण ह्याचरी मेशिनमा सेट गरी सकेका अण्डाहरु पनि शुक्रबारदेखि नै झिकेर नष्ट गरेको उहाँले बताउनुभयो । १० दिनसम्म ६० लाख चल्ला उत्पादन हुने गर्दछ । यी चल्ला बजारमा जाने हो भने ३५ देखि ४० दिनपछि मासुका लागि कुखुरा तयार हुन्छन् । जसबाट एक करोड २० लाख केजी मासु उत्पादन हुने अध्यक्ष पोखरेलको भनाई छ ।

उहाँले भन्नुभयो, ‘नेपालमा प्रति हप्ता ३० देखि ३२ लाख गोटा चल्ला उत्पादन भए माग र आपूर्ति मिल्छ । उत्पादन ४५ लाख भन्दा धेरै छ । त्यसैले चल्लाको मूल्य सस्तो भयो । बजारमा धेरै चल्ला गएको कारण किसानले उत्पादन गरेको कुखुराको मुल्य पनि आएन ।’ ह्याचरीले अहिले प्रति गोटा ३० रुपैयाँमा चल्ला बेचेको छ । उत्पादन लागत नै ५० देखि ५५ रुपैयाँसम्म पर्ने उहाँले बताउनुभयो ।

त्यसैगरी तयारी कुखुराको मूल्य किसानले प्रति केजी १२० रुपैयाँदेखि १३० रुपैयाँसम्म पाएका छन् । उत्पादन लागत प्रति केजी १९० रुपैयाँसम्म पर्ने नेपाल कुखुरा पालक किसान संघ केन्द्रीय समितिका अध्यक्ष झनकप्रसाद पौडेलले जानकारी दिनुभयो । त्यसैले न चल्ला उद्योगी न कुखुरा पालक किसान कसैले उचित मुल्य पाएका छैनन् । तर उपभोक्ताले पनि कम मुल्यमा मासु खान नपाएको अवस्था छ ।

ह्याचरीले १० दिन चल्ला उत्पादन रोक्दा लगभग दुई महिनापछि मासुको माग र कुखुराको संख्या मिल्न आउने आशाले यो निर्णय गरेको ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोखरेलले बताउनुभयो । ‘नौ महिनादेखि ह्याचरी उद्योगले घाटामा चल्ला बेचेका छन् । किसानलाई पनि फाइदा भएन । १० दिन रोक्दा बजारमा माग र आपुर्तीको सन्तुलन मिल्ने आशामा यो निर्णय गरेको हो’ पोखरेलले भन्नुभयो ।

तत्कालका लागि यो उपाय ल्याए पनि समस्याको दीर्घकालिन समाधानका लागि नेपालमा मासु खपतको अवस्था हेरेर चल्ला उत्पादनको अनुमति दिनु पर्ने व्यवस्था हुनुुपर्ने उहाँले बताउनुभयो । विदेशका धेरै देशहरुमा मासु खपतको अवस्था हेरेर चल्ला उत्पादनको प्रबन्ध मिलाउने गरेको उहाँले बताउनुभयो । कुखुरा पालन क्षेत्रमा मौलाएको बिचौलीया प्रवृत्ति र दानाको मूल्य बढेका कारण किसान र ह्याचरी उद्योगीहरु समस्यामा परेको उहाँको भनाइ छ । झण्डै सवा खर्ब रुपैयाँ लगानी भएको कुखुरापालन क्षेत्रलाई जोगाउन बेलैमा सरकारले सोच्नु पर्ने उहाँको भनाई छ ।

नेपाल कुखुरा पालक किसान संघ केन्द्रीय समितिका अध्यक्ष झनकप्रसाद पौडेलले ह्याचरी संघको निर्णयले कुखुरा पालन क्षेत्रको संकट टार्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘केही समययता किसानले लगातार घाटा खाएका कारण चल्ला राखेका थिएन् । चल्ला बिक्री नभएपछि उहाँहरुले नबेच्ने भन्नु भएको छ । अहिले १० दिन नबेचे दुई महिनापछि बजार सुधार होला भन्ने आशा होला । तर यसले कुखुरा पालन व्यवसायको संकट टार्दैन ।’ 


प्रतिक्रिया