उद्योग क्षेत्रका समस्या समाधान गर्न माग

पुस ४, २०७६ | विराटनगर

- उद्योग व्यापार क्षेत्रमा देखिएका विभिन्न समस्या समाधान गर्न पूर्वका उद्योगी व्यवसायीले माग गरेका छन् । उनीहरुले औद्योगिक ग्राम स्थापना गरिनुपर्ने लगायत सुझाव पनि सरकारलाई दिएका छन् । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङका प्रतिनिधिले हिजो काठमाडौंमा अर्थमन्त्री युवराज खतिवडालाई भेटेर समस्या समाधानको मागसहितको ज्ञापनपत्र बुझाएका छन् । सम्पूर्ण औद्योगिक पूर्वाधार विद्युत, टेलिफोन, सडक, पानी, सुरक्षा सहित उद्योग स्थापनाका लागि सुनसरीको अमडुवामा रहेको ६५० विघा जग्गामा औद्योगिक ग्राम स्थापना गर्न उद्योगीको माग छ । 

प्रदेश १ का औद्योगिक उत्पादन लगायत कृषिजन्य वस्तुहरु एवं पहाडी जिल्लामा उत्पादन हुने जडिबुटी जस्ता विभिन्न वस्तुहरुको प्रदर्शन गर्न प्रदर्शनी गर्न अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माणको माग गरिएको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताउनुभयो । बैंक तथा वित्तिय संस्थाहरुको चर्को व्याज तथा बैंक र बिमा कम्पनीहरुको अघोषित सिण्डीकेटलाई अविलम्ब तोडी उद्योगमा बढीमा ७ प्रतिशत र वाणिज्य व्यापारमा ९ प्रतिशतमा ब्याजमा नबढाई सरलीकृत कर्जा उपलब्ध गराउन माग गरिएको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्दडाले बताउनुभयो ।


प्रतिक्रिया