भोटेकोशी जलविद्युत आयोजना निर्माण सुरु

पुस १५, २०७६ | रसुवा

रसुवामा १ सय २० मेगावाट क्षमताको रसुवा भोटेकोशी जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ । गोसाइँकुण्ड गाउंपालिका–१ रोङ्गा खोलामा निर्माण हुन लागेको आयोजनाको आज शिलान्यास गरिएको छ । 

आयोजनाको प्रर्बद्धक कम्पनी लाङटाङ भोटेकोशी हाइड्रोपावर कम्पनी प्रालि रहेको छ । अधिकांश संरचना भूमिगत रहेको यस आयोजना रन अफ रिभर प्रकृतिको हो ।

 रसुवा भोटेकोशी जलविद्युत आयोजनामा ९० प्रतिशत वैदेशिक र १० प्रतिशत नेपाली लगानी रहेको छ । यसको मुख्य लगानिकर्ता चीनको सिचुवान हुवानी इनर्जी इन्भेष्टमेन्ट कम्पनी लिमिटेड रहेको छ । आयोजनाको लागि २०७० पुस १८ गते बैदेशिक लगानि स्वीकृत भएको थियो । 

आयोजना निर्माण गर्ने जिम्मा चिनियाँ ठेकेदार कम्पनी चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशनले पाएको छ । आयोजना निर्माणको कुल लागत करीब २० अर्ब ३८ करोड ९८ लाख रुपैयाँ रहेको छ । निर्माण कार्य सुरु गरेको ३६ महिनामा सम्पन्न गर्ने आयोजनाले बताएको छ । 

अहिले आयोजनाको मुख्य सुरुङमार्ग निर्माणको काम तीन स्थानबाट भइरहेको छ । आयोजनाबाट उत्पादन हुने विद्युत खरिद–बिक्रीका लागि नेपाल विद्युत प्राधिकरणसँग २०७४ पुस ७ गते विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेको छ । 

आयोजनाबाट उत्पादित विद्युत करीब ५ किलो मिटर लामो १ सय ३२ केभी डबल किर्कट प्रसारण लाइनमार्फत चिलिमे हब सवस्टेसनमा जडान गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।  


प्रतिक्रिया