सुनको भाउ तोलाको ७ सयले बढ्यो

माघ १, २०७६ | काठमाडौं

नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । निकै उतारचढावका बीच कारोबार हुँदै आएको सुनको मूल्यमा आज प्रतितोला ७ सय रुपैयाँले बढेको छ । 

सुनको भाउ बढेर प्रतितोला ७४ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य ८ सय रुपैयाँले घटेर हिजो प्रतितोला ७४ हजार रुपैयाँमा कारोबार भएको थियो । 

गत बधुबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो ।

सुनको मूल्य बढेसँगै चाँदीको मूल्यमा पनि प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला ८ सय ८५ मा कारोबार भएको महासंघले जनाएको छ । 

पछिल्लो समय मध्यपूर्वमा देखिएको तनाव, चीन–अमेरिका व्यापार युद्धका कारण सुनको मूल्यमा उतारचढाव देखिएको महासंघले जनाएको छ । 


प्रतिक्रिया