समयमै बजेट खर्च गर्न प्रदेश ५ सरकार असक्षम

माघ १०, २०७६ | बुटवल

प्रदेश ५ सरकार समयमै बजेट खर्च गर्न असक्षम देखिएको छ । सरकारले चालू आर्थिक वर्षको ६ महिनामा पुँजीगत बजेटको १७ दशमलव ७१ प्रतिशत मात्रै खर्च गरेको छ । 

खर्च गर्न बाँकी झण्डै ८३ प्रतिशत बजेट ६ महिनाका लागि थुप्रिएको छ । शत प्रतिशत बजेट कार्यान्वयमा नजाने सम्भावना समेत बढेपछि प्रदेश सरकार खर्च गर्न असक्षम देखिएको हो ।

प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ३३ अर्ब १७ करोड ८७ लाख बजेट विनियोजन गरेको थियो । यसमध्ये विकास बजेट १८ अर्ब १२ करोड ११ लाख रुपैया हो । 

पुस मसान्तसम्म विकास बजेटको जम्मा ३ अर्ब २९ करोड ७ लाख ९९ हजार रुपैयाँ खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । 

यो प्रतिशतका हिसाबले १७ दशमलव ७१ हो । यो अघिल्लो वर्षको तुलनामा भने ६ गुणा बढी हो । गत आर्थिक वर्षको ६ महिनामा प्रदेश सरकारले विकास बजेटको जम्मा ३ दशमलव ९५ प्रतिशत खर्च गरेको थियो । 

प्रदेशका कोष तथा लेखा नियन्त्रक दिपक ज्ञवालीले सरकारका संयन्त्र बढेकाले गत वर्षको तुलनामा यसवर्ष बजेट उपयोग केही बढेको बताउनुभयो । 

मन्त्रालयगत रुपमा सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयले १९ दशमलव ५७ प्रतिशत खर्च गरेको छ । दोस्रोमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले १५ दशमलव ८३ प्रतिशत खर्च गरेको छ । 

सबैभन्दा कम आर्थिक मामिला तथा योजना मन्त्रालयले शुन्य दशमलव ७३ प्रतिशत र आन्तरीक मामिला तथा कानुन मन्त्रालयको छ । जसले जम्मा सुन्य दशमलव ११ प्रतिशत बजेट मात्रै खर्च गर्न सकेको छ ।


प्रतिक्रिया