नेप्सेसँगै कारोबार रकम पनि घट्यो

माघ १५, २०७६ | काठमाडौं

लगातार दुई दिन उकालो लागेको धितोपत्र बजारमा आज सामान्य अंकले गिरावट आएको छ । बजार परिसूचक नेप्से आज शुन्य दशमलव २७ अंकले घटेर १ हजार ३ सय ५ दशमलव ८८ बिन्दुमा पुगेको छ । 

नेप्से ओरालो लागेसँगै कारोबार रकममा पनि कमी आएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा १० करोड रुपैयाँले घटेको छ । 

अघिल्लो दिन ५ दशमलव ५२ अंकले उकालो लागेको नेप्सेमा एक अर्ब ४० करोड रुपैयाँ बढीको कारोबार भएको थियो । 

नेप्सेमा कारोबार भएका व्यापार, होटल, निर्जीवन बीमा र लघुवित्त समूह बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचकमा गिरावट आउँदा समग्र बजारनै प्रभावित बन्यो । 

सबैभन्दा बढी लघुवित्त कम्पनी समूहको उपसूचक ९० दशमलव ९५ अंकले बढेको छ । 

नेप्सेमा आज कुल १ सय ७६ कम्पनीका १३ हजार ८ सय कारोबारबाट २८ लाख ७८ हजार ४ सय ५२ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, एक अर्ब २९ करोड ३७ लाख रुपैयाँ बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 


प्रतिक्रिया