निर्यात बढाउन व्यवसायीलाई प्रशिक्षण

माघ २९, २०७६

बढ्दो ब्यापार घाटा न्यूनिकरण र उत्पादित वस्तुको निर्यात बढाउन सरकारले प्रदेश १ का उद्योगी व्यवसायीलाई प्रशिक्षण दिएको छ । 

उद्योग वाणिज्य महासंघ प्रदेश १ को संयोजनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रदेशका १४ वटै जिल्लाका उद्योगी व्यवसायीका लागि विराटनगरमा आजबाट दुई दिने प्रशिक्षण सुरु गरेको हो । 

सो क्रममा मन्त्रालयका सह–सचिव महेश आचार्यले आर्थिक समृद्धिका लागि निर्यात बढाउनु अहिलेको आवश्यकता भएको बताउनुभयो । 

प्रदेशका विभिन्न जिल्लामा उत्पादित वस्तु विश्व बजारमा निर्यात योग्य भएपनि त्यसको ब्राण्डिङ्ग लगायत बारेमा उद्योगी व्यवसायीहरु जानकार नभएकाले प्रशिक्षणको आयोजना गरिएको उहाँले बताउनुभयो । 

उद्योगी व्यवसायीलाई अन्तर्राष्ट्रिय व्यापारका अवसर र चुनौती बारे प्रशिक्षण दिई मुलकमा उत्पादित वस्तुको निर्यात बढाउने सरकारको लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।

तालिममा औद्योगिक बौद्धिक सम्पत्तिको महत्व र प्रयोग, व्यापारलाई कसरी मुल प्रवाहिकरण गर्ने, भन्सारका समस्या र समाधानका उपाय, मूल्य चक्र विषयमा सहभागीलाई जानकारी गराईने छ ।

प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियतले आयात प्रतिस्थापन र निर्यात वृद्धिका लागि प्रदेश सरकार निजी क्षेत्रसँग समन्वय गरेर अघि बढ्न तयार रहेको बताउनुभयो । 

प्रशिक्षणले स्थानीय उत्पादनको बजारीकरण, निर्यातमा सहजता आउने सरकारको अपेक्षा छ । तालिममा प्रदेश १ का जिल्ला र नगर उद्योग वाणिज्य संघका ४० उद्योगी व्यवसायीको सहभागीता रहेको छ । 


प्रतिक्रिया