चल्ला र दानाको मूल्य बढाउने उद्योगीलाई कारबाही गर्न किसानको माग

फाल्गुन ६, २०७६ | काठमाडौं

चल्ला र दानाको अस्वाभाविक मूल्य वृद्धि गर्ने उद्योगीलाई कारबाही गर्न कुखुरा पालक किसानहरुले सरकार समक्ष माग गरेका छन् । चल्ला र दानामा मूल्य बढाएर कालोबजारी गर्ने उद्योगीलाई कारबाहीको माग गर्दै कुखुरा पालक किसानहरुले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा मंगलबार ज्ञापनपत्र बुझाएका छन् ।

उद्योगीहरुले चल्ला तथा दानामा अस्वाभाविक मूलय वृद्धि गरी कुखुरा पालक किसानलाई शोषण गरिरहेको राष्ट्रिय कुखुरा पालक संघर्ष समितिले जनाएको छ । कालोबजारी गर्ने उद्योगीसँग सरकारको पनि मिलेमतो रहेको आरोप किसानहरुको छ । चल्ला र दानाको मूल्य बढेपछि कालोजारी गर्ने उद्योगीलाई कारवाही गर्न माग गर्दै संघर्ष समिति गत माघ २० गते विभागलाई लिखित रुपमै निवेदन दिएको थियो । तर, अहिले सम्म विभागले कुनै छानबिन तथा अनुगमन नगरेको भन्दै किसानहरुले आपत्ति जनाएका छन् ।

विभागसँग ठूला उद्योगी र व्यवसायीको मिलेमतो रहेका कारण अनुगमन नगरेको निष्कर्ष संघर्ष समितिले निकालेको छ । चल्ला र दानाको मूल्य बढाउने उद्योगीको सिण्डिकेटका कारण साना किसानहरु विस्थापित हुने अवस्थामा पुगेको राष्ट्रिय कुखुरा पालक किसान संघर्ष समितिका संयोजक विष्णु खड्काले बताउनुभयो ।

चल्लाको लागत मूल्य बढीमा ३५ रुपैयाँ हुँदाहुँदै ७० रुपैयाँमा बिक्री गर्नु तथा थप मूल्य बढाउन चलखेल हुनुले पनि विभाग र उद्योगीबीच मिलेमतो रहेको प्रष्ट हुने उहाँको भनाई छ । एक साताको अवधिमा एउटा चल्लाको प्रतिगोटा मूल्य ३० रुपैयाँ र दानाको मूल्य पनि अत्यधिक वृद्धि गरिएको संयोजक खड्काले बताउनुभयो ।

उद्योगीहरुले आफू अनुकूल दाना तथा ह्याचरी उद्योग संघ गठन गरी बजार र सम्पूर्ण किसानलाई नियन्त्रणमा राख्दा समेत विभाग मौन बसेको ज्ञापन पत्रमा उल्लेख छ । प्रतिहप्ता ३५ लाख चल्ला उत्पादन गर्ने ह्याचरी उद्योगीले प्रतिगोटा ३० रुपैयाँका दरले अतिरिक्त मुनाफा लिई एक साताको अवधिमै किसानबाट १० करोड ५० लाख रुपैयाँ ठगी गरेको समितिका संयोजक खड्काले बताउनुभयो ।

कृषकको ज्ञापनपत्र बुझ्दै विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आफूलाई व्यापारी तथा उद्योगीसँग मिलेको भन्ने आरोपको खण्डन गर्नुभयो । चल्ला र दानाको मूल्य बढेको विषयमा विभागले अध्ययन गरिरहेको उहाँले बताउनुभयो ।

कुखुरा पालक किसानका समस्या :

१. दाना तथा ह्याचरी उद्योगीहरुले आफू अनुकूल दाना तथा ह्याचरी उद्योग संघ गठन गरी उक्त संघले सम्पूर्ण बजार तथा किसानलाई जबरजस्ती नियन्त्रणमा राख्नु ।

२. किसानले आफूनो मूल्य निर्धारण गर्न नपाउनु ।

३. कुखुरा जोख्दा खोरमै जोख्ने प्रणाली (खोर काटा) लागू नहुनु ।

४. कुखुराको ग्रेडिङ नहुनु ।

५. कुखुराको नेट तौलमा १ देअि १ दशमलव ५ प्रतिशतसम्म काट्नु ।

६. अवैधानिक संघले तोकेको मूल्यमा १० रुपैयाँसम्म घटाएर खाने ।

७. गुणस्तरहीन दाना तथा चल्ला उत्पादन गरी बिक्री वितरण गर्नु ।

८. दानाको बोरामा मूल्य तथा कन्टेन्ट स्पष्ट नखुलाउनुले नियत नै बदनियतपूर्ण भएको देखिन्छ ।

९. कुखुराको भ्याक्सिन, औषधि तथा भिटामिनमा मनोमानी मूल्यमा बिक्री गर्नु ।

१०. चल्ला तथा दानामा व्यापाक मूल्य वृद्धि ।

समाधानका उपायहरु :

१. अवैधानिक दाना तथा ह्याचरी उद्योग संघ तत्काल खारेज गर्नुपर्ने ।

२. न्यूनतम आधार मूल्य किसानको नेतृत्वमा कोल्डस्टोर व्यवसायी र किसानले तोक्न पाउनुपर्ने ।

३. खोर कोटा अनिवार्य लागू गर्नुपर्ने ।

४. कमिसन तथा ग्रेडिङ र प्रतिशत घटाउ नपाईने ।

५. दाना तथा चल्लाको गुणस्तरको नियमित अनुगमन गर्नुपर्ने

६. दानाको बोरामा मूल्य, प्याकिङ्ग मिति र कन्टेन्ट स्पष्ट खुलाउनु पर्ने ।

७. प्यारेन्ट आयातमा कटौती गरी बजारको माग अनुसार मात्र चल्ला उत्पादन गर्नुपर्ने ।


प्रतिक्रिया