नेप्सेमा ३ अर्ब ४१ करोड रुपैयाँ बढीको कारोबार

फाल्गुन १२, २०७६ | काठमाडौं

कारोबार हुने साताको दोस्रो दिनपनि धितोपत्र बजारमा ३ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । धितोपत्र बजारमा आज ३ अर्ब ४१ करोड ५ लाख रुपैयाँ बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

बजार परिसूचक नेप्से आज १ दशमलव ९६ अंकले घटेर १ हजार ५ सय २ दशमलव १८ बिन्दुमा पुगेको छ । 

नेप्सेमा सामान्य गिरावट आएसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा १९ करोड रुपैयाँ कमी आएको छ । 

हिजो ६९ अंकले उकालो लागेको नेप्सेमा हाल सम्मकै सबैभन्दा उच्च ३ अर्ब ६० करोड रुपैयाँ बढीको कारोबार भएको थियो । 

कारोबार भएका बैंक, उत्पादनमूलक र अन्य बाहेका बाँकी सबै कम्पनी समूहका उपसूचक ओरालो लाग्दा समग्र बजार नै प्रभावित बन्यो । 

नेप्सेमा आज सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूहको उपसूचक २ सय २० दशमलव ८ अंकले घटेको छ ।

नेप्सेमा आज कुल १ सय ७९ कम्पनीका ३१ हजार २ सय ९० कारोबारबाट ८३ लाख ४८ हजार २ सय ३४ कित्ता सेयर किनबेच भए । 

कारोबार हुने दोस्रो दिन एनएमबी बैंक लिमिटेडको सबै भन्दा बढी कारोबार भएको छ । एनएमबी बैंकको आज २० करोड ४३ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ ।


प्रतिक्रिया