नेप्सेमा एकैदिन ४ अर्ब रुपैयाँ बढीको कारोबार

फाल्गुन १४, २०७६ | काठमाडौं

धितोपत्र बजारमा आज एकै दिन ४ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । उच्च अंकले उकालो लागेको बजारमा आज ४ अर्ब १५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको हो । 

यो हालसम्मकै उच्च कारोबार रकम हो । यसअघि, कारोबार हुने साताको पहिलो दिन गत आइतबार नेप्सेले सर्वाधिक कारोबार रकमको रेकर्ड बनाएको थियो । 

आइतबार करीब ७० अंकले उकालो लागेको नेप्सेमा ३ अर्ब ६० करोड रुपैयाँ बढीको करोबार भएको थियो । 

आज दिनभर तीब्र उतारचढावका बीच सेयर कारोबार मापक नेप्से परिसूचक ५० दशमलव ९३ अंकले बढेर १ हजार ५ सय ९६ दशमलव १३ मा पुगेको छ । पछिल्लो समय नेप्से बढेसँगै दैनिक कारोबार रकममा पनि उल्लेख्य सुधार भइरहेको छ । 

नेप्सेमा आज कारोबार भएका सबै कम्पनी समूहको उपसूचक उकालो लागेसँगै बजारमा सुधार देखिएको हो । सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको उपसूचक ५ सय ७१ दशमलव १८ अंकले बढेको छ । 

यस्तै, निर्जीवन २ सय ३३ दशमलव ५१, उत्पादनमूलकको १ सय ४२ दशमलव ८ र होटल समूहको उपसूचक ७३ दशमलव ८८ अंकले बढेको छ । 

नेप्सेमा आज कुल १ सय ८० कम्पनीका ३२ हजार १ सय ५४ कारोबारबाट ९९ सय लाख ६ हजार ९ सय ८९ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज्ले जनाएको छ । 

कारोबार हुने चौंथो दिन आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबै भन्दा बढी सेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको २१ करोड ९९ लाख रुपैयाँ बढीको कारोबार भएको छ । 

शिवम् सिमेन्टको साढे १८ करोड रुपैयाँको कारोबार भयो भने १० करोड भन्दा माथि ८ कम्पनीका सेयरको कारोबार भयो । 

बजारमा ठूला लगानीकर्ताको प्रवेश हुन थालेपछि कारोबार रकम बढेको र साना लागनीकर्ता पनि ठूला लगानीकर्ताको पछि लागेको देखिएको छ । 

त्यस्तै सेयर धितोमा बैंक तथा वित्तीय संस्थाहरुले पनि सजिलै कर्जा उपलब्ध गराउन थालेपछि बजारमा कारोबार बढेको देखिन्छ ।


प्रतिक्रिया