पाल्पामा बाहिरी जिल्लाबाट तरकारी आयातमा रोक

वैशाख ३, २०७७ | पाल्पा

पाल्पामा अन्य जिल्लाबाट हरियो तरकारी आयातमा स्थानीय प्रशासनले रोक लगाएको छ । कोरोना संक्रमण रोकथाम नियन्त्रण उपचारमा सहयोग, समन्वय, सहजीकरण र अनुगमन लगायतका कार्यहरु प्रभावकारी रुपमा गर्न बनेको समिति (सीसीएमसी) को बैठकले यस्तो निर्णय गरेको हो । 

स्थानीयस्तरमा उत्पादित तरकारीलाई बजारसम्म पुर्‍याउने कार्यलाई सहजीकरण गर्ने जिल्ला समन्वय अधिकारी लेखनाथ ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार अन्यत्रबाट आउने यस्ता उत्पादनले संक्रमण बढाउने सम्भावना बढी देखिएकोले बाहिरबाट हुने आयातमा हाललाई रोक लगाउने निर्णय भएको हो ।

अबदेखि खाद्यान्न पसल पनि सातामा तीन दिन मात्र खुल्ने भएको छ । खाद्यान्न किन्न पनि आइतबार, मंगलबार र बिहबीार मात्र पाइने भएको छ । खाद्यान्न पसलहरु पनि ९ बजेदेखि ११ बजेसम्म मात्र खुल्ने निर्णय भएको उहाँले बताउनुभयो । 

पाल्पा उद्योग वाणिज्य संघ, व्यापार संघ लगायतका संस्थाहरुको उपस्थितिमा भएको बैठकले कोरोना रोकथाम एवं व्यवस्थापन गर्न आपूर्ति व्यवथापनमा भइरहेको व्यवस्थाबाट बजारमा मानिसहरुको आवतजावत बढी भई संक्रमण बढ्ने सम्भावना भएकाले यस्तो निर्णय गर्नु परेको उहाँले जानकारी दिनुभयो । 

वस्तु तथा सेवा बिक्री बितरण गर्दा व्यक्तिगत दूरी कायम गरी सुरक्षित रहने व्यवस्था कायम गर्ने निर्णय भएको छ । समितिको बैठकले औषधि पसलहरु दैनिक रुपमा अनिवार्य खोल्न भनेको छ । यस्तो व्यवस्था कार्यान्वयनका लागि जिल्ला प्रशासनलाई अनुरोध गरिसकेको छ । 


प्रतिक्रिया