गरिमा नफल्दा १० करोड नोक्सान, एक करोड राहत

गरिमा धान नफलेपछि हरियो बोट नै काट्दै गरेका चितवन कठारका किसान । तस्बिर :रमेशकुमार पौडेल/ कान्तिपुर ।  

जेष्ठ १४, २०७७ | चितवन

चितवनको खैरहनी नगरपालिका–१० कठार खरखुट्टेको किसान कृष्णप्रसाद अर्यालले गएको वर्ष आफ्नो १५ कट्ठा खेतमा गरिमा नामको भारतीय हाइब्रिड जातको धान रोपेका थिए । अघिल्ला वर्षहरुमा पनि सोही धान रोपेर उनले राम्रै लाभ लिएका थिए । चाडै पाक्ने धेरै फल्ने गुणले उनी गरिमा जातको धान रोप्न लोभिएका थिए । तर, गत वर्ष गरिमा भनेर रोपेको धान पसाउँदै पसाएन ।

नक्कली बीउ परेका कारण गरिमा नफलेर अर्याल जस्ता थुप्रै किसानले नोक्सानी ब्यहोरे । मारमा परेका किसानलाई सरकारले उपलब्ध गराउने राहत आइतबार मात्रै अर्यालको हात पर्‍यो । ‘मैले १५ कट्ठाको नौ हजार २१९ रुपैयाँ राहत रकम बुझे’ अर्यालले भने । यो रकम भनेको खेत जोत्नका लागि भएको खर्च बराबर हुने उनले सुनाए । यति रकम पनि धेरै हैरानी ब्यहोरेपछि मात्रै हात परेको हो ।

सरकारले धान रोप्न खर्च हुने प्रति कट्ठा लागत मूल्य तीन हजार १५० रुपैयाँ कायम गरेर त्यसको २० प्रतिशतको हाराहारीमा मात्रै राहत रकम उपलब्ध गराएको हो । सरकारी निकाय कृषि ज्ञान केन्द्र चितवनका अनुसार गरिमा धानको गुण अनुसार फल लागेको भए कट्ठामा पाँच हजार ११६ रुपैयाँ बराबरको धान फल्ने निष्कर्ष निस्केको थियो । अर्थात ७६ हजार ७४० रुपैयाँ नोक्सान हुँदा अर्यालले निकै कम राहत पाएका छन् ।

‘यसलाई राहतका रुपमा मात्रै लिँए । किसानलाई वास्तवमै न्याय दिने हो भने कम्पनीबाट उचित क्षतिपूर्ति भराउन सरकार लाग्नु पर्ने छ’ अर्यालले भने । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालका अनुसार सात स्थानीय तह रहेको चितवनमा ईच्छाकामना गाउँपालिका बाहेक ६ स्थानीय तहमा गरिमा धानको खेती भएको थियो । दुई हजार ६५२ जना किसानले झण्डै हजार बिघा जमिनमा गरिमा धान रोपेका थिए ।

चितवनका सवै स्थानीय तहमा संघीय सरकारले उपलब्ध गराएको राहत रकम वितरण सुरु भएको ढकालले जानकारी दिनुभयो । सबैभन्दा पहिला राप्ती नगरपालिकाले बैशाख २८ गते सूचना निकालेर राहत बाँड्न सुरु गरेको थियो । चितवनमा सबैभन्दा धेरै राप्ती नगरपालिकामा नै गरिमा धान लगाइएको थियो । राहतका लागि चितवनका स्थानीय तहलाई संघीय सरकारबाट एक करोड २३ लाख ४५ हजार रुपैयाँ उपलब्ध भएको छ ।

कृषि ज्ञान केन्द्रकै विश्लेषणलाई आधार मान्दा पनि गरिमा नफल्दा उत्पादनका आधारमा चितवनका किसानहरुले १० करोड १९ लाख ४८ हजार ८८५ रुपैयाँ बराबरको नोक्सानी ब्यहोरेका थिए । सवा १० करोड रुपैयाँका हाराहारीमा नोक्सानी ब्यहोरेका किसानहरुले जम्मा सवा करोड रुपैयाँका हाराहारीमा मात्रै राहत बुझेका छन् । धान नफलेपछि बाली चक्रनै बिथोलिएका कारण किसानले अन्य खेतीबाट पनि फाइदा लिन पाएका थिएनन् ।

‘हामीले गरिमा चाँडै फल्छ, धान काटेपछि आलु र अन्य तरकारी खेती लगाउन पाइन्छ भनेर रोपेका हौं नि । तर गरिमा नफलेपछि कुर्दा कुर्दा आलु र तरकारी लगाउन अबेला भयो । यता तर्फ भएको नोक्सानी कसले गणना गर्ने’ किसान कृष्णप्रसाद अर्यालले भने । बीउ उत्पादक र आयात कम्पनी विरुद्ध मुद्दा दायर गरी किसानलाई क्षतिपूर्ति दिने तयारीमा सरकार रहेको कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले बताउनुभयो ।

भारतबाट नेपालमा गरिमा धानको बीउ आधिकारिक रुपमा आयात गर्ने कम्पनी दाङ लमहीमा रहेको सनराईज एग्रिकल्चर रिसर्च सेन्टर प्रालि रहेको थियो । चितवन र यस आसपासको क्षेत्रमा प्रशान्त एग्रोभेटले गरिमा धानको बीउ बेचेको कृषि ज्ञान केन्द्रबाट जानकारी प्राप्त भएको छ । विस २०७० सालदेखि नै गरिमा आयात हुन थालेको देखिन्छ । चितवन क्षेत्रमा मात्रै गत वर्ष गरिमा धानको ११ हजार ७०४ किलो बीउ खपत भएको थियो ।

क्र.स            पालिकाकिसान संख्या               उपलब्ध राहत रकम

१)               राप्ती नगरपालिका                    ७९१३७ लाख ४२ हजार

२)               खैरहनी नगरपालिका                 ५२०२५ लाख ४८ हजार

३)               कालिका नगरपालिका                १७०६ लाख ६२ हजार

४)              रत्ननगर नगरपालिका                  ५०२१९ लाख ४० हजार

५)              भरतपुर महानगरपालिका            ४२२२० लाख २९ हजार

६)              माडी नगरपालिका                      २४७१४ लाख २४ हजार

कुल दुई हजार ६५,२१,२३,४५,००० रुपैयाँ


प्रतिक्रिया