सरकारले कर तिर्ने समय असार १५ गतेसम्म थप्यो

जेष्ठ २१, २०७७ | काठमाडौं

सरकारले कर तिर्ने समय बढाएर असार १५ गतेसम्म पुर्‍याएको छ । लकडाउन जारी रहेकै समयमा सरकारले जेठ मसान्तसम्म कर भुक्तानी गरिसक्नुपर्ने असंवेदनशील निर्णय गरेको भन्दै चौतर्फी विरोध भएपछि आन्तरिक राजस्व विभागले विभिन्न शीर्षकअनुसार असार ७ देखि १५ गतेसम्म कर तिर्ने समय थपेको हो ।

मूल्य अभिवृद्धि करको हकमा गत फागुन, चैत र वैशाखको मासिक कर विवरण तथा गत माघ, फागुन, चैत र वैशाख महिनाको द्धिमासिक र दोस्रो चौमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद असार ७ गतेसम्म तोकिएको छ ।

विभाग उपमहानिर्देशक मुक्ति पाण्डेले जेठ २५ गतेसम्म सीमा बढाएको जनाकारी दिदै तोकेको समय सीमाभित्र शुल्क र ब्याज नलाग्ने बताउनुभयो । यसबीचमा केही समस्या आए सहजीकरण गरिने उहाँले बताउनुभयो ।

उद्योगीहरुले भने लकडाउन खुलेको कम्तीमा ३ महिना समय चाहिने बताउँदै आएका छन् । लकडाउनले उद्योगधन्दा नै ठप्प भएकाले तत्काल कर तिर्न नसक्ने उनीहरुको दाबी छ । फागुन, चैत र वैशाखको बुझाउनुपर्ने विवरण तथा विवरण बमोजिमको अन्तशुल्क दाखिला गर्ने म्याद पनि असार ७ गतेसम्मका लागि बढाइएको छ । 

अग्रीम कर कट्टी र अग्रीम कर असुलीको विवरण बुझाउने म्याद तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद असार ७ गतेसम्म तोकेको आन्तरिक राजश्व कार्यालयले जनाएको छ । 

चैत महिनामा बुझाउनुपर्ने आर्थिक बर्षको संशोधित कर विवरण र दोश्रो किस्ता वापतको रकम दाखिला गर्ने म्याद असार १५ गतेसम्मका लागि तोकिएको छ । फागुन, चैत र बैशाखको शिक्षा सेवा शुल्क, टेलिफोन शुल्क तथा दुरसञ्चार सेवा दस्तुर दाखिला गर्ने समयावधी असार ७ गतेसम्मका लागि बढाईएको छ ।


प्रतिक्रिया