काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा पसलहरु खुला

जेष्ठ २२, २०७७ | काठमाडौं

काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लाका व्यवसायीहरुले आजबाट व्यवसाय सञ्चालन गरेका छन् । सरकारले लकडाउनको स्वरुप परिवर्तन नगरेका कारण व्यापार व्यवसाय धरासायी बन्दै भएको भन्दै उनीहरुले आजबाट पसल सञ्चालन गरेका हुन् । 

सरकारले लकडाउनको स्वरुप परिवर्तन गर्नुको साटो समयावधि लम्ब्याएपछि आफूहरुले ठूलो क्षति ब्यहोर्नु परेको भन्दै उनीहरुले व्यवसाय सुरु गरेका हुन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघ र राष्ट्रिय व्यापार संघले आजबाट बिहान ८ देखि ११ बजेसम्म पसल खुला गर्ने जनाएको छ । 

लकडाउनका कारण व्यवसाय ठप्प हुँदा आफूहरुले ठूलो नोक्सानी ब्यहोर्नु परेकाले अब चुप लागेर बस्ने स्थिति नरहेको राष्ट्रिय व्यापार संघका अध्यक्ष अञ्जन शाक्यले बताउनुभयो । 

लामो समयसम्म व्यापार, व्यवसाय ठप्प हुँदा बैंकको ब्याज, घरभाडा, कर्मचारीलाई तलब दिन समेत समस्या भईरहेको अवस्थामा सरकारले कर तिर्न ताकेता गरिरहेकाले आफूहरु बाध्य भएर पसल खुला गर्ने निर्णयमा पुगेको उहाँले बताउनुभयो । 

लकडाउन जारी रहे आफूहरुको व्यवसाय धरासायी हुने अवस्था सिर्जना हुने देखिएकाले आजबाट नियमित रुपमा बिहान ११ बजेसम्म पसल सञ्चालन गर्ने उहाँले बताउनुभयो । 

पसल खुला गर्ने विषयमा सम्बन्धित स्थानीय तह र प्रहरी प्रशासनलाई पनि जानकारी गराएको भएपनि कुनै प्रतिक्रिया नआएको उहाँले जानकारी दिनुभयो । आफूहरुले सम्पूर्ण सुरक्षा सावधानी अपनाएर आजबाट व्यवसाय सुरु गरिएको संघका अध्यक्ष शाक्यले बताउनुभयो ।


प्रतिक्रिया