चितवनमा पनि देखियो सलह कीरा

नारायणगढ बेलचोकमा आइतबार बिहानै देखा परेको सलह कीरा । फोटो : कान्तिपुर 

असार १४, २०७७ | चितवन

बाली बिरुवा खाएर सखाप पार्ने फट्याङ्ग्रा (सलह कीरा) को ठूलो समूह चितवनमा पनि देखिएको छ । खास गरेर चितवनको खैरहनी लगायत ठाउँहरुमा स–सानो झुण्ड देखिएको किसानहरुले जानकारी गराएको भरतपुरस्थित कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले बताउनुभयो । 

भरतपुर–नारायणगढ क्षेत्रमा फाट्टफुट्ट सलह कीराहरु देखिएका छन् । धानको ब्याडमा राखेको बीउको विशेष ख्याल गर्न कृषि विज्ञहरुले अपिल गरेका छन् । 

केन्द्रका प्रमुख ढकालले भन्नुभयो, 'मकवानपुर तिर त्यहाँबाट प्राविधिकहरुले नै सलहको ठूलै झुण्ड देखिएको जानकारी गराएका छन् । चितवनका पूर्वी क्षेत्रमा पनि देखा परेको किसानहरुले बताएका छन् । त्यसैले चितवन पनि जोखिममा छ । पश्चिमतर्फ भैरहवा, बुटवलमै देखिएपछि विशेष ख्याल राखौं ।’ 

चितवन रामपुरमा रहेको राष्ट्रिय मकैबाली अनुशन्धान कार्यक्रमका किट विज्ञ घनश्याम भण्डारीले पनि जोखिम बढेको बताउनुभयो । 

किट विज्ञ भण्डारीले भन्नुभयो, ‘चितवनको पूर्व पश्चिम दुबै तिर सलह देखिएको छ । जिल्लामा पनि फाट्टफुट्ट देखिएपछि सजग हुनु पर्छ । सबै बालीलाई जोगाउनु पर्‍यो । खास गरेर रोप्न तयार धानको बीउको त झनै बढी ख्याल राख्नु होला भन्ने अपिल गर्दछु ।’ 

सलह देखा परे धपाउनका लागि धूवाँ लगाउने, ठूलो आवाजहरु निकाल्ने, लामा डोरीहरु बारीको वारपार टाँगेर बोटहरु हल्लाउने गर्दा सलह भाग्न सक्ने उहाँले बताउनुभयो । राति आएर बसेका सलह बिहान सक्रिय हुनुअघि नै धपाउनु उत्तम हुने उहाँको भनाई छ । 

चराहरुले सलह कीरा खाने भएका कारण चरा जोगाउन ध्यान दिनु पर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो कीरा माछा र कुखुरा, हाँसको राम्रो आहार पनि हो । छोपेर दानाको रुपमा प्रयोग गर्न पनि सकिन्छ ।’

बीउको ब्याडहरु सम्भव भएसम्म जालीले छोप्न उहाँले अनुरोध गर्नुभयो । किटनाशक प्रयोग गर्नुपर्ने अवस्था आए विज्ञहरुको सल्लाहा र सिफारिस अनुसार गर्न उहाँले किसानहरुलाई अपिल गर्नुभयो ।


प्रतिक्रिया