तरकारी बिक्री नभएपछि बारीमै कुहिन थाले

बजार नपाएरपछि खेतमै कुहिन थाले बन्दा । तस्बिर: विप्लव महर्जन/कान्तिपुर  

असार १४, २०७७ | सल्यान

लकडाउनका कारण सल्यानमा उत्पादित तरकारीले बजार नपाएपछि बारीमै कुहिन थालेका छन् । तरकारी बिक्री नभएपछि किसानहरुले बारी नै नष्ट गरेर अन्न बाली लगाउन थालेका छन् ।

तरकारी उत्पादनका लागि पकेट क्षेत्र मानिने कपुरकोट गाउँपालिकामा उत्पादित तरकारी बिक्री नभएपछि ठूलो घाटा व्यर्होनु परेको भन्दै बारीमै नष्ट गरेको किसानहरुले बताएका छन् ।

लामो समय देखि व्यावसायिक तरकारी खेती गर्दै आएका रिम सल्लामका देलबहादुर रोकाले चार रोपनी जग्गामा लगाएको तरकारी मासेर अहिले मकै लगाएका छन् । बारीमा फलेका तरकारी बिक्री नभएर कुहिन थालेपछि खाद्यबाली लगाएको उनले बताए ।

‘बारीमा लगाएको बन्दा, गोलभेंडा, सिमी, बोडी, भेडे खुर्सानीले भाउ पाएन । बन्दा त पाँच रुपैयाँ प्रतिकिलोमा पनि बिक्री भएन त्यसैले काटेर फालेँ, उनले भने, ‘तरकारी बिक्री नभएपछि धेरै घाटा भयो । लगाएको तरकारीले भाउ पाउने देखिएन । त्यहि भएर सबै तरकारी मासेर मकै लगाएँ ।’

तरकारीबाट परिवार पाल्ने सम्भावना कम देखिएपछि ब्यावसायिक तरकारी छाडेर खाद्यबाली लगाएको कपुरकोट गाउँपालिका–२ का किसान शेरबहादुर पुनले बताए । लकडाउनले गर्दा तरकारीबाट जीविकोपार्जन गर्न हम्मेहम्मे परेको उनले सुनाए । उनले भने, ‘तरकारी बिक्री गरेर वर्षभरी खान पुग्थ्यो । अहिले त तरकारी नै बिक्री नभएकाले समस्या छ । पछि पनि समस्या नहोस् भनेर खाद्यबाली रोजेँ ।’

होटलमा बढी प्रयोगमा आउने बन्दा यसपाली सबै होटल बन्द भएका कारण बिक्री नभएर कुहिन थालेपछि बारी मै नष्ट गर्नुपरेको शारदा नगरपालिका–१ सितलपार्टीका किसान नवीन सिंह भँडेलले बताए ।

लकडाउनका कारण तरकारी खेती गर्दै आएका आफू मात्र नभई जिल्लाभरीका किसानहरु समस्यामा परेको र अहिले सबैलाई जीविकोपार्जनका लागि कठिनाई भएको उनले बताए । ‘वार्षिक चार/पाँच लाख रुपैयाँ तरकारीबाट आम्दानी हुन्थ्यो । लकडाउनले तरकारी बिक्री नभएपछि बीउको पैसा समेत उठाउन सकिएन’ उनले भने ‘धेरैजसो तरकारी बारीमै खेर गए ।’

यता कृषि विकास कार्यालय सल्यानका सूचना अधिकृत रेशमबहादुर बस्नेतले यो वर्ष ब्यावसायिक तरकारी खेतीमा ३५ प्रतिशतले भन्दा बढीले गिरावट आउन सक्ने बताउनुभयो । कपुरकोटबाट वार्षिक २१ करोड रुपैयाँ भन्दा बढीको तरकारी निकासी हुने गरेकोमा यो वर्ष ठूलो गिरावट आउने उहाँले बताउनुभयो ।

उहाँका अनुसार लकडाउनले गर्दा ब्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका पाँच हजार भन्दा बढी किसान प्रभावित भएका छन् । तरकारी खेती गर्दै आएका अधिकांश किसानले आफ्नो जग्गामा अन्न बाली लगाएका छन् ।

जिल्लामा अहिले तरकारी उत्पादन हुने स्थानमा चार वटा ब्लक र ६ तरकारी पकेट क्षेत्र रहेका छन् । यसवर्ष लकडाउनकै कारण खाद्य संकट पर्ने देखिएपछि किसानहरुले खाद्यबाली लगाएको निमित्त प्रमुख महेस आचार्यले बताउनुभयो ।

विगतमा बाँझो रहेका जग्गामा समेत भारतबाट फर्केका मजदुरले मकैबाली लगाएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्ष खाद्यबाली उत्पादनमा वृद्धि हुने देखिएको छ । 


प्रतिक्रिया