कोरोनाले अदुवा निर्यातमा कमी, किसान र व्यापारी चिन्तित

भारत निर्यात गर्न धरानस्थित कृषि उपज बजारमा संकलित माउ अदुवा । तस्बिर : प्रदीप मेन्याङ्बो/कान्तिपुर  

असार २१, २०७७ | सुनसरी

माउ अदुवा निकालेर बिक्री गर्ने बेला हो यति बेला । नेपालका विभिन्न जिल्लामा उत्पादित मध्ये ९० प्रतिशत अदुवा भारतीय बजारमा निर्भर छ । तर, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण नेपालमा उत्पादित अदुवा निर्यातमा कमी आएको छ । 

लकडाउनका कारण निर्यातमा कमी आएसँगै उत्पादित अदुवाको मूल्यमा पनि ह्रास आउने चिन्ता किसानलाई छ । दुई वर्ष अघिसम्म भारतले नेपाली अदुवा निर्यातमा रोकेको थियो । चोरबाटो भएर व्यापारीहरुले अनेक गरेर छिराउँथे । गत वर्षदेखि नेपाली अदुवा भारतीय बजारमा निर्यात गर्न सहज भएको छ । 

भन्सारमा निर्यात सहज भएपनि कोरोना त्रास र लकडाउनले नेपालका पूर्वी जिल्लामा उत्पादित करोडौं रुपैयाँ बराबरको अदुवाले भाउ नपाउने हो कि भन्ने चिन्ता बढेको धरान उपमहानगरपालिका–२० विष्णुपादुकाका अदुवा कृषक पदम राईले बताए ।

उनले चिन्ता व्यक्त गर्दे भने, ‘दुई वर्षअघि भारतले निर्यात रोक्यो । त्यसको एक वर्षपछि निर्यात खुकुलो बनायो । भाउ पनि आकासिएर प्रतिकिलो २ सय भन्दा बढी भयो । अहिले पनि चित्त बुझाउने मूल्य कायम छ । तर, विश्वव्यापी कोरोनाको त्रास र लकडाउनले बारीको अदुवा बिक्री गर्न नपाइएला कि भन्ने चिन्ता बढेको छ ।’

उनले गत वर्ष अदुवाले मूल्य पाएकैले उत्पादन क्षेत्र बढाएर लगानी समेत गरेको बताए । कोरोना त्रास र लकडाउनले अदुवा बिक्री गर्न नपाए उनको बारीमा करीब ३ सय किलो माउ अदुवा कुहिन सक्ने छ । उनले भने, ‘बारीमै अदुवा बिग्रेला भनेर अहिले माउ अदुवा धमाधम निकाल्दै छु । भन्सार र ढुवानी सहज भएको सुनेको छु । तर, कोरोना महामारी र लकडाउनका कारण कुन बेला के हुने हो थाहा छैन ।’

धरानस्थित कृषि उपज बजारबाट मात्र गत वर्षमात्र करीब १० हजार मेट्रिक टन अर्थात २ अर्ब ५० करोड रुपैयाँ बराबरको अदुवाको कारोबार भएको थियो । त्यसबेला थोक मूल्यमा प्रतिकिलो १ सय ९० देखि २ सय रुपैयाँसम्म थियो । तर, यो वर्ष कोरोना महामारी र लकडाउनले अदुवाको मूल्यमा सरदर ५५ देखि ६० प्रतिशत कमी आएको छ । 

आइतबारको थोक मूल्य ७० देखि ९० रुपैयाँ प्रतिकिलो रहेको छ । बजार व्यवस्थापक लक्ष्मण भट्टराईले भन्नुभयो, ‘मूल्य घटेपनि किसानहरुले दुई वर्ष अघिको तुलनामा धेरै मूल्य पाएका छन् । चित्त बुझाउने ठाउँ छ । तर, किसान र व्यापारीको शत्रु बनेर आइपरेको छ कोरोना भाइरसको महामारी र लकडाउन ।’

सुनसरी, मोरङ, उदयपुरका उत्तरी क्षेत्र र कोशी पहाडी जिल्लाहरुका साथै सिन्धुली, खोटाङ्ग, पाँचथरमा उत्पादित नेपाली अदुवा धरानको कृषि उपज बजारमा संकलित भई पूर्वी नाका काँकडभिट्टा, दक्षिणी नाका जोगवनी र भैरहवा नाकाबाट भारतको दिल्ली पुग्ने गरेको छ । 

बजार व्यवस्थापक भट्टराईका अनुसार असार तेश्रो साता सम्ममा करीब ४१ करोड ५० लाख रुपैयाँ बराबरको ५ हजार २ सय मेट्रिक टन अदुवा भारतीय बजारमा निर्यात भइसकेको छ । उहाँले भन्नुभयो, ‘उत्पादनको ५० प्रतिशत अदुवा बिक्रीका लागि किसानले ल्याउन अझै बाँकी छ ।’

सामान्यतया माउ अदुवाको भारत निर्यात गर्ने सिजन जेठदेखि साउन सम्म हो । यसैबीच कोरोना महामारी र लकडाउनले केही असहज भएको अदुवा व्यापारी विनोद राईले बताए । उनले भने, ‘नेपाली अदुवाको खपत हुने बजार र उपभोक्ता भनेको भारत नै हो । त्यसमा पनि दिल्ली । यो लकडाउनकाबीच पनि भन्सार सहज भएकाले मैले १ सय ३५ हजार किलो अदुवा निर्यात गरेर दिल्ली पठाउन सफल भएँ । तर, अब के हुन्छ यसै भन्न सकिने अवस्था छैन ।’

उनले कोरोना महामारी र लकडाउनको अवस्था नभएको भए नेपाली अदुवाले निकै मूल्य पाउने अवस्था रहेको बताए । तर, कोरोना महामारीकै बहानाले गर्दा दिनदिनै अदुवाको मूल्यमा ह्रास आएको, त्यसैले व्यापारी र किसानलाई चिन्तित बनाएको उनले बताए । भारतीय उपभोक्ताहरुले अदुवाको विभिन्न परिकार बनाउने, मसलाको रुपमा प्रयोग गर्ने, औषधि बनाउने, सुगन्धित तेल बनाउने गरेका छन् ।


प्रतिक्रिया