प्रदेश ५ का किसानलाई दूधमा प्रतिलिटर १० रुपैयाँसम्म अनुदान

श्रावण ४, २०७७ | बुटवल

प्रदेश ५ सरकारले लकडाउनको अवधिमा दूध उत्पादनका आधारमा किसानलाई प्रत्यक्ष अनुदान वितरण गरेको छ । किसानलाई कोभिड–१९ संक्रमण र लकडाउनका बेला दूधमा प्रतिलिटर १० रुपैयाँ र अन्य समयमा प्रतिलिटर दुई रुपैयाँ अनुदान दिएको प्रदेशको पशुपन्क्षी विकास निर्देशनालयले जनाएको छ । 

प्रदेश सरकारले दूध उत्पादक किसानलाई प्रतिलिटर १० रुपैयाँ अनुदान दिएपछि उल्लेख्य किसान लाभान्वित भएका छन् । कोभिड–१९ संक्रमण र लकडाउनका कारण समस्यामा परेका किसानको सुविधालाई ध्यानमा राखेर प्रदेश सरकारले गत बैशाख १५ गतेदेखि जेठ मसान्तसम्मको अवधिमा प्रतिलिटर १० रुपैयाँका दरले अनुदान दिएको निर्देशनालयले जनाएको छ । 

प्रदेशका विभिन्न ९३ सहकारी सस्थामार्फत किसानलाई २ करोड ७८ लाख १ हजार २ सय रुपैयाँ अनुदान वितरण गरिएको हो । सो अवधिमा अनुदानबाट २९ हजार १ सय ५६ जना किसान लाभान्वित भएका छन् । निर्देशनालयका निर्देशक तुल्सीराम भण्डारीले साना किसानलाई प्रत्यक्ष रुपमा मुनाफा उपलब्ध गराउन यस्तो अनुदान दिएको बताउनुभयो ।

उत्पादन प्रवर्धनमा आधारित अनुदान मार्फत गत आर्थिक वर्षमा प्रतिलिटर दुई रुपैयाँ अनुदान दिएको थियो । सो अनुदान ३१ सहकारी संस्था मार्फत प्रदेशका १२ जिल्लाका किसानलाई वितरण गरिएको निर्देशनालयले जनाएको छ । 

अनुदानबाट प्रदेशका १४ हजार ६ सय ६९ किसान लाभान्वित भएका थिए । गत आर्थिक वर्षमा अनुदानका लागि ७ करोड ४८ लाख ६६ हजार ७ सय ८४ रुपैयाँ खर्च भएको प्रदेशको निर्देशनालयले जनाएको छ । वर्षदिन सहकारी मार्फत दूध बेचेका आधारमा किसानले सो रकम पाउने छन् । 


प्रतिक्रिया