बुधबार नेप्से २३ अंकले ओरालो लाग्यो

श्रावण १४, २०७७ | काठमाडौं

धितोपत्र बजारमा लगातार तेस्रो दिन पनि गिरावट आएको छ । बजार परिसूचक नेप्से आज २३ दशमलव ३६ अंकले ओरालो लागेर एक हजार ४ सय ३१ दशमलव ५२ बिन्दुमा पुगेको छ । 

नेप्से ओरालो लागेपनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा ४३ करोड रुपैयाँले वृद्धि भएको छ । हिजो ७ अंकले ओरालो लागेको नेप्सेमा एक अर्ब २५ करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।

नेप्सेमा आज कारोबार भएको सबै कम्पनी समूहको उपसूचक ओरालो लाग्दा समग्र बजार नै प्रभावित बन्यो । सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको उपसूचक १ सय ९० दशमलव ८२ अंकले घटेको छ । 

यस्तै, निर्जीवन बीमाको १ सय ५९ दशमलव ८७, होटलको ५९ दशमलव ५, लघुवित्तको ५५ दशमलव ६९ र उत्पादन मूलक कम्पनी समूहको उपसूचक ४९ दशमलव ७ अंकले घटेको छ ।

नेप्सेमा आज कुल १ सय ८७ कम्पनीका २४ हजार २ सय २४ कारोबारबाट ३८ लाख ३९ हजार ६ सय ७१ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, एक अर्ब ६८ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 


प्रतिक्रिया