मंगलबार नेप्से २२ अंकले घट्यो

आश्विन ६, २०७७ | काठमाडौं

धितोपत्र बजार मंगलबार एक दशमलव ४६ प्रतिशतले ओरालो लागेको छ । नेप्से ओरालो लागेपनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सुधार देखिएको छ । बजार परिसूचक नेप्से आज २२ दशमलव ९१ अंकले घटेर एक हजार ५ सय ४६ दशमलव १५ बिन्दुमा पुगेको छ । 

नेप्सेमा गिरावट आएपनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा १८ करोड रुपैयाँले वृद्धि भएको छ । हिजो ६ अंकले ओरालो लागेको नेप्सेमा २ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्सेमा कारोबार भएका सबै कम्पनी समूहको उपसूचक ओरालो लागेकाले समग्र बजार नै प्रभावित भएको हो ।

नेप्सेमा मंगलबार सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूहको उपसूचक १ सय १२ दशमलव ६६ अंकले घटेको छ । यस्तै, जीवन बीमाको १ सय ९ दशमलव ४७, विकास बैंकको ४० दशमलव ३, उत्पादन मूलकको ३५ दशमलव ४, जलविद्युतको २४ दशमलव ९१ र लघुवित्त कम्पनी समूहको उपसूचक २३ दशमलव २४ अंकले घटेको छ ।

नेप्सेमा आज कुल १ सय ९९ कम्पनीका ४७ हजार ९ सय ४४ कारोबारबाट ७८ लाख ५६ हजार ७ सय ८८ कित्ता सेयर किनबच भए । जसअन्तर्गत, २ अर्ब ८१ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 


प्रतिक्रिया