बिहीबार २० अंकले उकालो लाग्यो नेप्से

आश्विन १५, २०७७ | काठमाडौं

सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार धितोपत्र बजार दोहोरो अंकले उकालो लागेको छ । गत सोमबारदेखि लगातार ओरालो लागेको धितोपत्र बजारमा कारोबार हुने साताको अन्तिम दिनभने दोहोरो अंकले सुधार देखिएको हो । 

बजार परिसूचक नेप्से आज २० दशमलव ६१ अंकले उकालो लागेर एक हजार ५ सय ७१ दशमलव ४ बिन्दुमा पुगेको छ । नेप्से उकालो लागेसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा ८५ करोड रुपैयाँले वृद्धि भएको छ । 

बुधबार (हिजो) ३ अंकले ओरोलो लागेको नेप्सेमा एक अर्ब ९५ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्सेमा कारोबार भएका जलविद्युत र म्यूचल फण्ड बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक उकालो लागेकाले समग्र बजारमा सुधार देखिएको हो । 

सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूहको उपसूचक ३ सय ३२ दशमलव ४१ अंकले बढेको छ । यस्तै, जीवन बीमाको १ सय ५७ दशमलव ३३, विकास बैंकको ६५ दशमलव ४८ र उत्पादन मूलक कम्पनी समूहको उपसूचक ४९ दशमलव ७९ अंकले बढेको छ ।

नेप्सेमा बिहीबार कुल १ सय ९२ कम्पनीका ४७ हजार ३२ कारोबारबाट ९९ लाख ३० हजार ८ सय ३० कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, २ अर्ब ८० करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 


प्रतिक्रिया