बंगलादेशबाट युरिया मल आउन अझै ३ साता लाग्ने

आश्विन १७, २०७७ | पर्सा

कृषि सामग्री कम्पनी लिमिटेडले बंगलादेशबाट ल्याउन लागेको युरिया मल आउन अझै ३ साता लाग्ने भएको छ । बंगलादेशबाट ल्याउन लागेको मल असोजको अन्तिम वा कात्तिकको पहिलो साता मात्र आईपुग्ने कम्पनीले जनाएको छ । 

कम्पनीको वीरगञ्ज क्षेत्रीय कार्यालय प्रमुख गोरखनाथ केसीले हाल मलको टेण्डर भई सकेको र सम्झौता तथा एलसी खोल्ने प्रकृया जारी रहेको बताउनुभयो । सबै प्रकृया नियमित रुपमै भए असोज मसान्त वा कात्तिक पहिलो साता मात्रै मल आउने उहाँले बताउनुभयो ।

‘हालकै गतिमा एलसी खोल्ने तथा सम्झौता प्रक्रिया पूरा भए बंगलादेशबाट युरिया मल आउन कम्तीमा यतिको समय लाग्नेछ,’ उहाँले भन्नुभयो, ‘कुल ६० हजार मेट्रिक टन युरिया मध्ये आधा वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा आउने र बाँकी भैरहवा तथा विराटनगर नाकामा आउने छ । 

असोज अन्त्य वा कात्तिकको पहिलो सातामा युरिया आई हालेपनि धान बालीमा युरिया छर्ने अवधि भने घर्की सक्ने किसानहरु बताउँछन् । किसान हकहित संघर्ष समितिका जिल्ला सचिव पृथ्वी साह कानु धान बालीमा युरिया मल छर्ने अवधि करीब सकिएकाले अब युरिया आई हाले पनि त्यसले धानबालीलाई लाभ नहुने बताउनुभयो ।

 ‘अधिकांश किसानले चाहिए जति युरिया मल पाएका छैनन्, अब आउने मलले पनि धान बालीलाई लाभ हुँदैन,’ उहाँले भन्नुभयो, ‘यस वर्ष युरिया मलको अभावले धानको उत्पादन घट्ने करीब पक्का छ ।’

कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा.रामचन्द्र यादवले पनि यस वर्ष युरिया मलको अभावले जिल्लामा धानको उत्पादन घट्ने सम्भावना रहेको बताउनुभयो । यसवर्ष जिल्लामा ४६ हजार ५ सय हेक्टर जग्गामा धान खेती गरिएको उहाँले बताउनुभयो । युरियाको अभाव रहेपनि कम्पनी क्षेत्रीय कार्यालय वीरगञ्जसँग डीएपी मलको भने पर्याप्त मौज्दात छ । यो मलको हाल माग छैन । 

कार्यालय प्रमुख केसीले हाल कार्यालयसंग करीब ४० टन डीएपी मलको मौज्दात रहेको जानकारी दिनुभयो । ‘डीएपी मलको उति सारो माग छैन,’ उहाँले भन्नुभयो, ‘तर माग्न आउने सहकारीलाई सातामा एक पटक यो मल दिई रहेका छौं ।’ 


प्रतिक्रिया