बझाङको देवल विमानस्थलमा परीक्षण उडान सम्पन्न

देवल विमानस्थलमा परीक्षण उडानको लागि आएको जहाज हेर्न आएका स्थानीय । तस्बिर : वसन्तप्रताप सिंह/रेडियो कान्तिपुर ।  

आश्विन १७, २०७७ | बझाङ

बझाङको देवल विमानस्थलमा शनिबार परीक्षण उडान गरिएको छ । विमानस्थल कालोपत्रे गर्ने काम सम्पन्न भएपछि नियमित उडान सञ्चालन गर्नका लागि परीक्षण उडान गरिएको हो । परीक्षण उडानका लागि आएको समिट एयरको विमानले देवल विमानस्थलमा शनिबार दिउँसो १२ बजेर ४५ मिनेटमा सफल अवतरण गरेको थियो । 

परीक्षण उडानमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, सांसदहरु भैरब सिंह, आशा विक, दामोदर भण्डारी, सुदूरपश्चिम प्रदेशकी पर्यटन मन्त्री माया भट्ट, संविधान सभा सदस्य अफिलाल ओखेडा, अनेरास्वियुका संयोजक ऐन महर सहितका जनप्रतिनिधि तथा नागरिक उड्डयन प्राधिकरणका अधिकारी सहितको टोली विमानमा बझाङ पुगेको थियो । विमानस्थल भन्द भएको झण्डै १२ वर्षपछि आएको जहाज हेर्नका लागि सयौंको संख्यामा स्थानीयहरु विमानस्थल वरपर जम्मा भएका थिए । उनीहरु जहाजको नजिक गएर फोटो खिच्दै खुसीयाली मनाएका थिए । 

परीक्षण उडानपछि आयोजित कार्यक्रममा मन्त्री भट्टराईले परीक्षण उडान सफल भएको र केहीदिन मै नियमित उडान तालिका सार्वजनिक गर्ने बताउनुभयो । नियमित उडान सुरु भएपछि बझाङका नागरिकको आवतजावत सहज हुनुको साथै पर्यटन विकासको ढोका समेत खुल्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बझाङबासीको जहाज चढ्ने प्रतीक्षाको घडी अब सकिएको छ । नियमित उडान सुरु भएपछि तपाईहरुलाई आउजाउ गर्न त सहज हुने नै छ । यहाँका पर्यटकीय गन्तव्यमा पर्यटकहरुको आवागमन पनि बढ्ने छ ।’

यस्तै, परीक्षण उडानमा बझाङ विमानस्थलको निरीक्षणको लागि आएका धनगढी विमानस्थलका प्रमुख तेज बहादुर गुडथापाले विमानस्थल उपयुक्त भूगोलमा रहेको र धावनमार्ग (रनवे) को लम्बाई पनि पर्याप्त भएकोले देवल विमानस्थलमा उडान तथा अवतरणको लागि सुरक्षित देखिएको बताउनुभयो । समिट एयरका क्षेत्रीय निर्देशक सरोज उप्रेतीले आफूहरु बझाङमा नियमित सेवा दिन इच्छुक रहेको बताउनुभयो । 

बझाङका स्थानीय र जनप्रतिनिधिले विमानस्थल कालोपत्रे हुनुपर्ने र नियमित उडान सेवा सुरु गर्नुपर्ने माग गर्दै पटकपटक केन्द्रसम्म धाएका थिए । हप्तामा कम्तीमा दुई वटा उडान हुनसके बझाङका नागरिकलाई राहत हुने र जिल्लाको पर्यटन प्रर्वधन हुने उनीहरुको भनाई छ । ‘विमानस्थल पक्की भएर परीक्षण उडान पनि सफल भएको कुराले हामी निकै खुसी छौ’ विमानस्थल सञ्चालन गर्ने कुरामा निरन्तर दबाब सिर्जना गरेका पर्यटन अभियन्ता किसोर खड्काले भन्नुभयो, ‘अब नियमित उडानको लागि सबैले पहल गर्नुपर्छ ।’

२०३५ सालमा कच्ची विमानस्थल निर्माण सम्पन्न भएपछि पहिलो पटक तत्कालीन शाही नेपाल वायुसेवा निगमले साप्ताहिक उडान थालेको यो विमान स्थल २०६५ सालसम्म सञ्चालनमा रहेको थियो । पछिल्लो समय निगम बाहेकका निजी विमान कम्पनीहरुले पनि बझाङबाट नेपालगञ्ज र धनगढीका लागि उडान भर्ने गरेका थिए । २०६५ सालमा बझाङ सदरमुकाम सम्मबस चल्न थालेपछि यो विमानस्थलमा कुनै पनि उडान भएका छैनन् । 

२०६६ सालमा नेपाल वायुसेवा निगमले बझाङ सदरमुकाममा रहेको आफ्नो कार्यालय समेत बन्द गरेको थियो । यसबीच बर्खा र हिउँदमा सडक यातायात बन्द हुँदा उपचारका लागि बाहिरी जिल्ला रिफर गरिएका थुप्रै बिरामीहरुले यातायातको साधन नपाएर ज्यान गुमाउनु परेको थियो ।


प्रतिक्रिया