विराटनगर विमानस्थल विस्तारको सम्झौता

आश्विन १९, २०७७ | मोरङ

विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थलको रुपमा विस्तार गर्न तीन तह (संघ, प्रदेश र स्थानीय तह) का सरकारबीच सोमबार सम्झौता भएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, प्रदेश १ का मुख्यमन्त्री शेरधन  राई, विराटनगर महानगर प्रमुख भीम पराजुली लगायतको उपस्थितिमा नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार र विराटनगर महानगरबीच त्रिपक्षीय सम्झौता भएको हो । 

आन्तरिक उडान भइरहेको विराटनगर विमानस्थलको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जग्गा अधिग्रहण गरेर आवश्यक पूर्वाधार निर्माण गर्ने समझदारी पत्रमा उल्लेख छ । विमानस्थलको हाल रहेको एक हजार पाँच सय मिटर लम्बाईको धावनमार्गलाई तीन हजार मिटरमा बिस्तार गरिने पत्रमा भनिएको छ । 

विमानस्थल बिस्तारका लागि आवश्यक जग्गा अधिग्रहणका लागि संघीय सरकारले ५०, प्रदेश सरकारले ४० र विराटनगर महानगरपालिकाले १० प्रतिशत लागत साझेदारी गर्ने सम्झदारी पत्रमा उल्लेख छ । 

समझदारी पत्रमा नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि गुरुयोजना तयार पार्नुका साथै आवश्यक जग्गा अधिग्रहणका लागि सरकारबाट निर्णय गराउने प्राधिकरणलाई तोकिएको छ । 

संघीयताको मर्म अनुसार पर्यटन क्षेत्रको विकासका लागि तीनै तहको सरकारले अपनत्व बोध हुने गरी लागत साझेदारी अघि बढ्ने अबधारणा अनुसार यो समझदारी पत्रमा हस्ताक्षर भएको मन्त्री भट्टराईले बताउनुभयो । विमानस्थल विस्तारका लागि चाँडै मन्त्रिपरिषदबाट निर्णय गराएर काम अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

मुख्यमन्त्री राईले विराटनगर विमानस्थलको विस्तार र विकाससँगै यस प्रदेशको समृद्धिको मूल फुट्ने बताउनुभयो । यसले विदेशी पर्यटक सिधै विराटनगर आर्लेर पर्यटन व्यवसायले ठूलो फड्को मार्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

विमानस्थल विस्तारका लागि गतवर्ष केही जग्गा अधिग्रहण गरेर निर्माण कार्यसमेत भइसकेको छ । विमानस्थल ३ हजार मिटरमा विस्तार भएपछि धावनमार्गको चौडाई मध्यबिन्दुबाट १ सय ७० मिटर उत्तरदक्षिण विस्तार गर्न उत्तर–दक्षिणतर्फ समेत थप जग्गा अधिग्रहण गर्नुपर्ने प्राधिकरणका विराटनगर प्रमुख उत्सव खरेलले बताउनुभयो । 


प्रतिक्रिया