राष्ट्र बैंकले दशैंमा नयाँ नोट सटही नगर्ने

आश्विन २०, २०७७ | काठमाडौं

दशैंका लागि यो बर्ष राष्ट्र बैंकबाट नयाँ नोट साँट्न नपाईने भएको छ । कोरोना महामारीमा भिडभाड नियन्त्रणका लागि भन्दै केन्द्रीय बैंकले आफ्ना विभिन्न शाखाबाट नयाँ नोट निश्कासन नगर्ने भएको हो ।

केन्द्रीय बैंकको थापाथाली लगायतका शाखाबाट नयाँ नोट निश्कासन नगरिने तथा बैंक तथा वित्तीय संस्थाका माध्यमबाट सुरक्षित तवरले नयाँ नोट सटहीको व्यवस्था गरिने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिनुभयो ।

यद्यपी यो विषयमा केन्द्रीय बैंकले औपचारिक निर्णय गरिसकेको छैन । बैंक तथा वित्तीय संस्थाबाट सुरक्षित तवरले सटहीको व्यवस्था गर्ने र एटीएममा नयाँ नोट राखिने भएपनि राष्ट्र बैंक मातहतका निकायमा भने सटही नगरिने प्रवक्ता भट्टको भनाई छ ।

दशैंका अवसरमा केन्द्रीय बैंकबाट यसअघी कम्तिमा बार्षिक १५ अर्व रुपैयाँ बराबरको नयाँ नोट सटही हुने गरेको थियो । यो वर्ष भने कोरोना महामारीका कारण नयाँ नोट सटही प्रक्रीया प्रभावित भएको हो । दशैं देखि छठसम्म बैंक तथा वित्तीय संस्थाको माध्यमबाट ४० देखि ६० अर्ब रुपैयाँसम्म नगद प्रवाह हुने गरेको छ । 


प्रतिक्रिया