मजदुरमा कोरोना देखिएपछि तातोपानी नाका फेरि बन्द

आश्विन २०, २०७७ | सिन्धुपाल्चोक

चीनसँगको तातोपानी नाका सञ्चालनमा आएको एकदिन मै फेरि बन्द भएको छ । आइतबार सामग्री लोड/अनलोड गरेर सोमबार सामग्री नेपाल भित्रिएपछि नाका फेरि बन्द भएको हो । 

भन्सार सामाग्री लोड/अनलोड गर्ने मजदुरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नाका बन्द गरिएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका अधिकृत रमचन्द्र ढकालले बताउनुभयो । 

उहाँका अनुसार नाका खुल्दा भित्रिएका १२ वटा कन्टेनरका सामग्रीको भन्सार भएको छैन । ती सामग्रीको डकुमेन्ट मिल्ने क्रम बाँकी छ । चीनबाट आएका अन्य थप सामग्री मितेरी पुल पारी नै थन्काइएको छ । 

सामान लोड/अनलोड गर्ने मजदुरलाई कोरोना पुष्टि भएकै कारण सो सामग्री भुईंमै अलपत्र छाडिएको हो । नेपालमा परीक्षण गर्दा तीनैजना मजदुरको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । तर, चीनतर्फ परीक्षण गर्दा पोजेटिभ देखिएपछि चीनले एकतर्फी रुपमा आयात बन्द गरेको हो । 

सीमाबाट कोरोना फैलन सक्ने भन्दै जाङ्मु प्रशासनले चीनतर्फ मितेरीपुलमा ल्याइएको सामान अर्को निर्णय नभएसम्म नेपालतर्फ नपठाउने भएको छ । कोरोना संक्रमण फैलन सक्ने भएकोले दुबैतर्फबाट सजगता अपनाउने विषयमा छलफल भईरहेको भन्सार अधिकृत ढकालले बताउनुभयो । 

चीनतर्फ कोरोना परीक्षण गर्दा तीन मजदुरको रिपोर्ट पोजेटिभ आएको भन्दै आयात मोडालिटी परिवर्तन गर्नुपर्ने जानकारी आएको उहाँले बताउनुभयो । 


प्रतिक्रिया