सन् २०२१ मा नेपालको आर्थिक वृद्धि ०.६ प्रतिशत पुग्ने अनुमान

आश्विन २२, २०७७ | काठमाडौं

विश्व बैंकले नेपालको आर्थिक वृद्धि सन् २०२१ मा शून्य दशमलव ६ प्रतिशत पुग्ने अनुमान गरेको छ । विश्व बैंकको पछिल्लो दक्षिण एसियास्तरीय आर्थिक प्रतिवेदनका अनुसार कोरोनाको महामारी र लकडाउनले पर्यटन क्षेत्रमा पुर्‍याएको असरका कारण सन् २०२० मा शून्य दशमलव २ प्रतिशत मात्र रहेको नेपालको आर्थिक वृद्धि आगामी वर्ष शून्य दशमलव ६ प्रतिशत पुग्ने अनुमान छ । 

बिहीबार सार्वजनिक गरिएको अर्धवार्षिक अपडेटका अनुसार कोरोना महामारीको असर कायमै रहेका कारण दक्षिण एसिया यसवर्ष हालसम्मकै सूक्ष्म मन्दीमा डुबेको छ । जसका कारण अनौपचारिक क्षेत्रका कामदार सबैभन्दा बढी समस्यामा परेका छन् । 

अनौपचारिक क्षेत्रमा कार्यरत हजारौंले रोजगारी गुमाएका कारण लाखौं दक्षिण एसियाली नागरिक चरम गरिबीमा धकेलिँदै गएको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । पछिल्ला पाँच वर्षमा लगातार वार्षिक ६ प्रतिशतको हाराहारीमा रहेको दक्षिण एसियाको आर्थिक संकुचन दर सन् २०२० मा ७ दशमलव ७ प्रतिशतले खुम्चिने आकलन गरिएको छ । 

यस प्रतिवेदनले दक्षिण एसियामा अपेक्षा गरिएको भन्दा तीव्र आर्थिक गिरावट हुने प्रक्षेपण गरेको छ । सन् २०२१ मा क्षेत्रीय वृद्धि ४ दशमलव ५ प्रतिशत रहने अनुमान छ । जनसंख्या वृद्धिको अनुपात हेर्दा यस क्षेत्रको प्रतिव्यक्ति आय सन् २०१९ मा अनुमान गरिए भन्दा ६ प्रतिशतले कम रहनेछ । 

अबको समयमा हासिल गरिने आर्थिक वृद्धिले पनि विद्यमान महामारीको स्थायी आर्थिक क्षतिलाई परिपूर्ति नगर्ने विश्व बैंकले जनाएको छ । अघिल्ला मन्दीमा खस्कादो लगानी र निर्यातले गिरावट ल्याउने गरेपनि यसपालिको अर्थिक मन्दी फरक भएको विश्व बैंकको भनाई छ । 

परम्परागत रूपमा दक्षिण एसियामा मागको मेरुदण्ड र आर्थिक कल्याणको मुख्य सूचकका रुपमा रहेके निजी उपभोग १० प्रतिशतले घट्ने भएकाले गरिबीको दर पनि बढ्ने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । रेमिट्यान्समा आएको गिरावटले पनि अति विपन्नहरूले तीव्र गतिमा आय श्रोत गुमाउने अपेक्षा केही देशहरूमा गरिएको छ ।


प्रतिक्रिया