सुख्खा बन्दरगाहबाट मदिराको आयात ह्वात्तै घट्यो

आश्विन २३, २०७७ | पर्सा

पर्साको वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाह नाकाबाट चालु आर्थिक वर्षमा मदिराको आयात ह्वात्तै घटेको छ । बर्षेनी साउन देखि कात्तिक महिनाको अवधिमा तुलनात्मक रुपमा मदिराको आयात बढ्ने गरेकोमा यस बर्ष भने घटेको हो । 

चालु आर्थिक बर्षको साउन देखि असोज २१ गते सम्मको अवधिमा सो नाकाबाट ७१ लाख ५५ हजार रुपैयाँ बराबरको मदिरा आयात भएको बन्दरगाहस्थित भन्सार कार्यालयले जनाएको छ । गत आर्थिकवर्षको सोही अवधिमा भने ३० करोड ६८ लाख ६२ हजार रुपैयाँ बराबरको मदिरा आयात भएको थियो । 

मदिराको आयात घटदा राजश्व संकलनमा पनि भारी गिरावट आएको छ । मदिरा आयातबाट हालसम्म एक करोड १३ लाख १९ हजार रुपैयाँ राजश्व संकलन भएको छ । गत वर्षको सोही अवधिको ५२ करोड ९० लाख २९ हजार रुपैयाँ राजश्व संकलन भएको कार्यालयको तथ्याङ्क छ । 

कोरोना माहामारीका कारण होटल तथा पर्यटन व्यवसाय ठप्प हुँदा आयात ह्वात्तै घटेको सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत जगदीश पूर्वेले बताउनुभयो ।


प्रतिक्रिया