चाडपर्वको समयमा कुलेखानी पूर्णरुपमा सञ्चालन हुने

आश्विन २३, २०७७ | मकवानपुर

चाडपर्वलाई लक्षित गरेर कुलेखानी जलविद्युत् आयोजना पूर्णरुपमा सञ्चालन हुने भएको छ । यसवर्षको वर्षात्सँगै पूर्णरुपमा सञ्चालनमा रहेको कुलेखानी जलविद्युत् आयोजनाअन्तर्गत् तीनवटा आयोजना चाडपर्वको समयमा पनि पूर्णरुपमा सञ्चालन हुने भएको हो । 

नेपाल विद्युत् प्राधिकरणको ‘पावर व्याकप’रुपमा परिचित कुलेखानी जलविद्युत् आयोजनाबाट नियमित विद्युत् उत्पादन हुँदा दैनिक १०६ मेगावाट उत्पादन हुन्छ । चाडपर्वको समयमा उपभोक्तामा विद्युत्को माग बढ्दो अवस्थामा रहने कारण दैनिक १०६ मेगावाट विद्युत् उत्पादनलाई निरन्तरता दिइने कुलेखानी जलविद्युत् प्रथम आयोजनाले जनाएको छ ।

यस आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी कुल १०६ मेगावाट विद्युत् नियमित उत्पादन हुँदै आएको छ । नेपाल विद्युत प्राधिकरणको निर्देशनानुसार आयोजनाको नियमित विद्युत् उत्पादनलाई निरन्तरता दिइने कुलेखानी प्रथम आयोजनाका प्रमुख धिरेन्द्र चौधरीले बताउनुभयो । 

नेपाल विद्युत् प्राधिकरणले मौसम अनुसारको विद्युत्मा खपत घटबढ भइरहने हुँदा उत्पादनमा कटौती हुने गरेको भएपनि चाडपर्वको समयमा पूर्ण क्षमताअनुसार विद्युत् उत्पादन हुने पनि आयोजना प्रमुख चौधरीले जानकारी दिनुभयो ।

मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकास्थित इन्द्रसरोवर जलाशयमा असोज २३ गतेसम्ममा १५२६.५६ सेन्टिमिटर पानीको सतह रहेको छ । करिब ७ किलोमिटर लामो जलाशयमा अझै पाँच मिटर उचाइको पानी भर्न बाँकी रहेको कुलेखानी जलविद्युत् नियन्त्रण कक्षका प्राविधिक रामकुमार चौधरीले जानकारी दिए । 

यस वर्ष कुलेखानी जलविद्युत् आयोजनाको सिमसार क्षेत्रमा पानी कम परेको कारण नभरिएको हो । प्राविधिक चौधरीले असोज दोस्रो साताबाट पानी पर्न रोकिएकाले यो वर्ष कुलेखानी भरिने सम्भावना नरहेको बताउनुभयो ।

कुलेखानी नभरिएको खण्डमा सुख्खायाममा देशको अन्य स्थानमा रहेको जलविद्युत् आयोजना विग्रिएको खण्डमा पूर्णरुपमा आयोजना सञ्चालनमा समस्या सिर्जना हुने बताइन्छ ।


प्रतिक्रिया