उखुको बक्यौता भुक्तानी पाउने व्यवस्था मिलाइदिन किसानको आग्रह

आश्विन २५, २०७७ | काठमाडौं

रौतहटका किसानले उखुको बक्यौता भुक्तानी पाउने व्यवस्था मिलाइदिन संसदीय समितिलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा किसानले रौतहटको श्रीराम सुगर मिल्सबाट आफूहरूले पाउनुपर्ने भुक्तानी छिटो पाउने व्यवस्था मिलाइदिन भन्दै ज्ञापनपत्र बुझाएका हुन् । 

उखु उत्पादक संघ रौतहटका वरिष्ठ उपाध्यक्ष राम प्रमोद प्रसाद यादव लगायत प्रतिनिधिमण्डलले समिति सभापति विमलप्रसाद श्रीवास्तवलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् । श्रीराम सुगर मिल्सबाट पाउनुपर्ने ४१ करोड रुपैयाँ दशैं अघि नै भुक्तानी गर्ने व्यवस्था मिलाइदिन किसानहरूले समिति समक्ष आग्रह गरेका छन् । 

सो उद्योगका श्रमिक तथा कर्मचारीले पाँच महिनादेखि तलब–भत्ता तथा डेढ वर्षको सञ्चय कोष गरी करिब ४ करोड रुपैयाँ नपाएको भन्दै दशैं अगाडि नै सबै भुक्तानी पाउनुपर्ने उनीहरुले माग गरेका छन् ।

चिनी मिल सञ्चालकसँग बक्यौता भुक्तानी माग्दा जग्गा बिक्री भएपछि मात्रै दिने जवाफ आएकाले आफूहरू अन्योलमा परेको किसानहरूको भनाइ छ । किसानहरूले आर्थिक वर्ष २०७१/०७२ को १२ करोड रुपैयाँ, आर्थिक वर्ष २०७५/०७६ को २८ करोड ५० लाख रुपैयाँ र आर्थिक वर्ष २०७६/०७७ को ५० लाख रुपैयँ गरी कुल ४१ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ । 

श्रीराम सुगर मिल्सले गत साउन ११ गते सूचना प्रकाशन गरी सधैंका लागि उद्योग बन्द भएको जानकारी गराएको थियो । भुक्तानी दिन उद्योगले असक्षम भएको बताएपछि आफूहरू मारमा परेको उखु उत्पादक संघ रौतहटका वरिष्ठ उपाध्यक्ष यादवले बताउनुभयो । 

रौतहटमा करीब १८ हजार किसानले उखु खेती गर्दै आएका छन् । तर, उखु मिल नै बन्द भएपछि सबै किसानको आम्दानी बन्द हुँदा हजारौं घरपरिवारको आयस्रोत बन्द भएको उनीहरुको गुनासो छ । 


प्रतिक्रिया