बझाङमा १२ वर्षपछि सुरु भयो नियमित उडान

देवल विमानस्थलमा पहिलो नियमित उडानका क्रममा जहाज चढ्दै गरेका यात्रुहरु । तस्बिर : वसन्तप्रताप सिंह/रेडियो कान्तिपुर ।  

आश्विन २७, २०७७ | बझाङ

हवाई सेवा बन्द भएको १२ वर्षपछि बझाङमा नियमित उडान सुरु भएको छ । मंगलबार दिउँसो समिट एयरको विमानले धनगढी–बझाङ–धनगढी पहिलो नियमित उडान गरेको छ । धनगढीबाट १८ जना यात्रु बोकेर आएको समिट एयरको ट्वीनअटर विमानले मंगलबार दिउँसो १ बजे बझाङको देवल विमानस्थलमा अवतरण गरेको थियो । 

बझाङबाट नवजात शिशु सहित २० जना यात्रु धनगढीका लागि उडेका थिए । अब समिट एयरले हप्ताको प्रत्येक शुक्रबार र मंगलबार नियमित उडान गर्नेछ । यसअघि विमानस्थल कालोपत्रे भएपछि समिट एयरकै विमानले यही असोज १७ गते बझाङमा सफल परीक्षण उडान  भरेको थियो । 

परीक्षण उडानका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्री योगेश भट्टराई लगायत बझाङका सांसद र नेताहरु तथा नागरिक उड्डयन प्राधिकरणका अधिकारी पनि बझाङ आएका थिए । मन्त्री भट्टराईले त्यसबेला छिट्टै नियमित उडान गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो । 

लामो समयपछि हवाई सेवा नियमित भएको भन्दै स्थानीयहरु खुसी भएका छन । ‘बसमा गएको भए पुरै दिन लाग्थ्यो । जहाजले २२ मिनेट मै धनगढीबाट बझाङ पुर्‍यायो’ पहिलो नियमित उडानमा धनगढीबाट बझाङ आएकी देवकी थापाले भनिन्, ‘यस्तो सुविधा अब कहिल्यै बन्द नहोस ।’

यस्तै, नियमित हवाई सेवा सुरु भएपछि यहाँको पर्यटन प्रवर्धनमा पनि ठूलो योगदान पुग्ने अपेक्षा गरिएको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् । ‘अब एकै दिनमा काठमाडौंबाट बझाङ पुगिने भएको छ’ छविस पाथिभेरा गाउँपालिका–१ का वडा अध्यक्ष नयन बोहराले भन्नुभयो, ‘आर्कषक गन्तव्यहरु हुँदाहुँदै पनि कष्टकर यात्रा गर्नुपर्ने डरले बझाङ आउन नसकेकाहरुलाई हवाई सेवाले ठूलो राहत दिनेछ ।’

बर्खा र हिउँद याममा सडक मार्ग अवरुद्ध हुँदा बाहिरी जिल्ला रिफर गरिएका बिरामीहरुले वर्षेनी ज्यान गुमाइरहेको बताउँदै जयपृथ्वी नगरपालिका प्रविन्द्र धामीले भने, ‘हवाई सेवा निरन्तर सञ्चालन हुन सके बिरामीहरुलाई ठूलो राहत हुनेछ ।’

यसैबीच, जहाज नियमित भएपनि भाडा दर अचाक्ली महँगो भएकाले हवाई सेवा सर्वसाधारणको पहुँचमा नहुने गुनासो पनि स्थानीयको छ । नागरिक उड्डयन प्राधिकरणले तोकेको एकतर्फी भाडा ४ हजार ९ सय रुपैयाँ निकै महँगो भएकाले भाडादर घटाउनु पर्ने स्थानीयको माग छ । 

नरेन्द्र खड्काले भने, ‘जहाज नियमित भयो भनेर सबैले खुसी मनाउन पाउनु पर्छ । अहिलेको भाडा सर्वसाधारणको पहुँच भन्दा बाहिर छ ।’ विमानस्थल कालोपत्रे भएपछि अन्य विमान कम्पनीहरुले पनि बझाङ आउन चासो देखाइरहेकाले प्रतिस्पर्धा भएपछि भाडा दर केही कम हुन सक्ने नागरिक उड्डन प्राधिकरणका उपप्रबन्धक मोहन गिरीले बताउनुभयो ।

यसअघि, जिल्लाका स्थानीय र जनप्रतिनिधिले विमानस्थल कालोपत्रे हुनुपर्ने र नियमित उडान सेवा सुरु हुनुपर्ने माग गर्दै पटक पटक केन्द्रसम्म धाएका थिएन । २०३५ सालमा कच्ची विमानस्थल निर्माण सम्पन्न भएपछि पहिलो पटक तत्कालीन शाही नेपाल वायुसेवा निगमले साप्ताहिक उडान थालेको यो विमान स्थल २०६५ सालसम्म सञ्चालनमा रहेको थियो । 

पछिल्लो समय निगम बाहेकका निजी विमान कम्पनीहरुले पनि बझाङबाट नेपालगञ्ज र धनगढीका लागि उडान भर्ने गरेका थिए । २०६५ सालमा बझाङ सदरमुकाम सम्म बस चल्न थालेपछि यो विमानस्थलमा बन्द भएको थियो । 

२०६६ सालमा नेपाल वायुसेवा निगमले बझाङ सदरमुकाममा रहेको आफ्नो कार्यालय समेत बन्द गरेको थियो । यसबीच बर्खा र हिउँद याममा सडक यातायात बन्द हुँदा उपचारका लागि बाहिरी जिल्ला रिफर गरिएका थुप्रै बिरामीहरुले यातायातको साधन नपाएर ज्यान गुमाउनु परेको थियो ।

सम्बन्धित समाचार

* बझाङको देवल विमानस्थलमा परीक्षण उडान सम्पन्न


प्रतिक्रिया