मुगुको पुलु खाद्य डिपो आठ महिनादेखि खाली

मंसिर २७, २०७७ | मुगु

मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको पुलु खाद्य डिपोमा गत बैशाखदेखि खाद्यान्न ढुवानी भएको छैन । गाउँपालिका भित्रका करीब १३ सय परिवारलाई सहज रुपमा खाद्यन्न उपलब्ध गराउने उद्देश्यले पुलुमा खाद्य डिपो राखिएको भएपनि आठ महिनासम्म खाद्यान्न ढुवानी नहुँदा सरकारी कर्मचारी र सर्वसाधारण समस्यामा परेका छन् । 

खाद्यान्न ढुवानीको जिम्मा लिएको शर्मा ढुवानी सेवाले डिपोमा चामल नपुर्‍याउँदा माथिल्लो बस्तीका मुगु, डोल्फू, कात्तिक, किम्री, र तल्लो बस्तीका ताख, खारी, मह, रिउस गाउँका स्थानीय महँगोमा व्यापारीसँग चामल खरिद गर्न बाध्य छन् । हिमपातको बेला ब्यापारीको चामल पनि पाउन मुस्किल हुने भएपछि स्थानीयमा चिन्ता थपिएको छ । 

पैसा बोकेर चामल किन्न हिँडेर छाइल बजार, पुलु बजारसम्म धाउनु पर्ने अवस्था आएको स्थानीयको गुनासो छ । डिपोमा खाद्यान्न नहुँदा ब्यापारीसँग २५ केजी चामलको २ हजारदेखि २१ सय रुपैयाँसम्म तिरेर किन्नु पर्ने बाध्यता रहेको चितै गाउँका उर्गिन लामाको गुनासो छ । खाद्यान्नको प्रतीक्षा गर्दै ८ महिना बितिसक्यो, उनले भने, ‘हिउँ परेपछि पसलमा ब्यापारीको चामल पनि पाईंदैन कसरी छाक टार्ने ।’ यहाँ बरु पैसा कमाउन सजिलो एक केजी चामल पाउन गाह्रो हुने गरेको लामाको भनाई छ । 

चालू आर्थिक वर्षमा पुलु डिपोका लागि १ हजार ७ सय ५० क्विन्टल चामल स्वीकृति भएपनि ठेकेदारले ढुवानी नगर्दा मुगुम कार्मारोङका १८ वटा गाउँका स्थानीयलाई दैनिक जसो चामल किन्न घण्टौं हिँडेर छाइल बजारसम्म पुग्नु पर्ने बाध्यता छ । मुलुकमा संघीयता आएपछि प्रशासनिक कामकाजमा सहज भएपनि खाद्यान्न पाउन झन मुस्किल भएको माग्री गाउँकी छिरिङ छेजुङ लामाको भनाई छ । 

भौगालिक विकटता र सिँचाईको अभावले प्रर्याप्त अन्न उत्पादन नहुँदा बाहैमास किनेर खानुपर्ने अवस्थाले गर्दा स्थानीयलाई चुल्हो बाल्न पीरलो हुने गरेको छ । पुलुस्थित डिपोमा खाद्यान्न ढुवानीको लागि खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीसँग बारम्बार आग्रह गर्दा पनि सुनुवाई नभएको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताउनुभयो । 

जिल्लाको सोरुकोट, श्रीकोट, गमगढी खाद्य प्रमुख कार्यालयमा चालू आर्थिक वर्षको खाद्यान्न धमाधम ढुवानी भईरहेको छ । तर, पुलु डिपो भने ८ महिनादेखि खाली छ । पुलुस्थित खाद्य डिपोमा चामल ढुवानी गर्ने जिम्मा शर्मा ढुवानी सेवाकै भएको तर, अहिलेसम्म डिपोमा खाद्यान्न नपुर्‍याएको कम्पनीको शाखा कार्यालय मुगुका सूचना अधिकारी प्रमुख पुष्कर भामले बताउनुभयो ।


प्रतिक्रिया