मल आयातका लागि नेपाल–बंगलादेशबीच सम्झौता

पुस २, २०७७ | काठमाडौं

नेपाल र बंगलादेश सरकारबीच ५० हजार मेट्रिक टन युरिया मल आपूर्तिका लागि सम्झौता भएको छ । बंगलादेशको राजधानी ढाकामा एक कार्यक्रमबीच कृषि तथा पशुपन्छी विकास मन्त्रालयका तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी र बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेशनका अध्यक्ष महमद एमिन उल अहसनले हस्ताक्षर गर्नुभयो । 

कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले आज एक विज्ञप्ति जारी गर्दै ५० हजार मेट्रिक टन युरिया मल बल्क र कार्गो गरी चार चरण नेपाल निर्यात गर्ने सहमति भएको जानकारी दिनु भएको छ । सो सम्झौता भएको तीन महिना भित्र नेपालमा मल निर्यात गर्ने सहमति पत्रमा उल्लेख छ । 

युरिया मलको अन्तर्राष्ट्रिय फर्मूला मूल्य अनुसार प्रति मेट्रिक टन अमेरिकी डलर २५९ दशमलव १९५ मा सम्झौता भएको प्रवक्ता केसीले जानकारी दिनुभयो । सो मूल्य नेपालले अनुदानमा प्रदान गर्ने युरिया मलको पछिल्लो अन्तर्राष्ट्रिय बोलपत्रको मूल्य भन्दा प्रति मेट्रिक टन अमेरिकी डलर १८ दशमलव ५२ ले कम हो । 

कृषि सामग्री कम्पनी लिमिटेडले एलसी खोलेको दस दिनपछि मल लोडिङ सुरु हुने सम्झौतामा उल्लेख छ । बंगलादेशबाट सो परिमाणको मल आयातसँगै मल अभावको समस्या हल हुने मन्त्रालयका प्रवक्ता केसीले जानकारी दिनुभयो । 


प्रतिक्रिया