नक्साल तरकारी बजारमा क्यूआर कोडमार्फत भुक्तानी सेवा सुरु

पुस १०, २०७७ | काठमाडौं

काठमाडौंको नक्सालस्थित नक्साल तरकारी बजारमा क्यूआर कोडमार्फत भुक्तानी सेवा सुरु भएको छ । योसँगै सो तरकारी बजारमा किनमेल गर्नेहरुले नगद बोक्नैपर्ने झन्झट अब हटेको छ । तरकारी बजारका हरेक पसलमा क्यूआर कोड राखिएका छन् ती कोड स्क्यान गरेर उपभोक्ताले भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ । नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा नेपालमै पहिलो पटक सञ्चालनमा ल्याइएको सेवाको आज राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुभारम्भ गर्नुभएको हो ।

विदेशमा देखेको र चलेको क्यासलेश सिष्टम सुरु गरिएको भन्दै गर्भनर अधिकारीले मुलुकभर डिजिटल कारोबारलाई प्रवर्धन गर्न मुलुकभर क्यासलेश कारोबार बिस्तार गरिने बताउनुभयो । कोभिड–१९को त्रासका बीच क्यूआर कोडमार्फत् डिजिटल भुक्तानी गर्दा जोखिम न्यूनिकरण हुनुका साथै यस प्रविधिले राज्यको सुशासन र व्यक्तिको आचरणमा समेत सकारात्मक परिवर्तन ल्याउने उहाँको भनाई थियो ।

यसैबीच सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एवं बैंकर्स एसोशियसनका अध्यक्ष भुवन कुमार दाहालले राष्ट्र बैंकको अभियान सफल बनाउन सबैं बैंकसँग सहकार्यका लागि तयार रहेको बताउनुभयो । क्यासलेश कारोबारले संस्थाको खर्च कम हुनुका साथै पारदर्शिता समेत हुने दाहालको भनाई थियो । नक्साल तरकारी बजारमा एफवान सफ्ट इन्टरनेसनलको फोन पे मार्फत् उपभोक्ताहरुले बिल भुक्तानी गर्न सक्ने छन् । बजारमा उपभोक्ताहरुका लागि भायनेटले बजारमा नि:शुल्क वाइफाइ सेवा उपलब्ध गराएको छ ।

 राष्ट्र बैंकले नक्सालपछि कालिमाटी, बल्खुलगायतका ठूला तरकारी तथा फलफुल बजारमा क्यूआर कोडमार्फत् भुक्तानी गर्ने तयारी गरिरहेको छ । 


प्रतिक्रिया