आजदेखि अनलाइन मार्फत श्रम नविकरण

पुस १७, २०७७ | काठमाडौं

वैदेशिक रोजगारीको करार अवधि समाप्त भएका श्रमिकका लागि आजदेखि अनलाइन मार्फत श्रम नविकरण सुरु भएको छ । योसँगै बिदामा स्वदेश आएका वा विदेशमा रहेका श्रमिकले अनलाइनमार्फत नै पुन: श्रम स्वीकृति लिन पाउनेछन् । 

वैदेशिक रोजगार विभागका अनुसार एकपटक आँखा वा औंठा छापको स्क्यान लिइसकेका श्रमिकले मात्रै अनलाइनमार्फत आफ्नो श्रम नविकरण गर्न पाउनेछन् । श्रमिकले आफ्नो श्रम नविकरणको निस्सा आफ्नो इमेलमै प्राप्त गर्न सक्ने विभागले जनाएको छ । योसँगै अब श्रम नविकरण गर्नको लागि मात्रै नेपाल आउनुपर्ने वा दूतावासमा धाइराख्नुपर्ने बाध्यता पनि हटेको छ । विभागले श्रम नविकरण गर्नको लागि चाहिने म्यादी बिमा र कल्याणकारी कोषको भुक्तानी पनि अनलाइनमार्फत नै गर्न पाउने व्यवस्था मिलाएको छ । 

यसको लागि सेवाप्रदायक संस्थालाई थप शुल्क भुक्तानी गर्न भने पर्दैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले डेढ वर्ष अगाडि नै वैदेशिक रोजगार नियमवाली–२०७६ लाई पाँचौं पटक संशोधन गरी अनलाइन मार्फत् नै पुन: श्रम स्वीकृति गर्ने व्यवस्था मिलाएको थियो । तर बिमा कम्पनीले अनलाइन मार्फत नै रकम लिने बिषयमा सहजीकरण नगर्दा ढिलाइ भएको थियो । वैदेशिक रोजगार विभागले दुई वर्षको लागि मात्रै श्रम स्वीकृति दिने गरेको छ । पुन: सोही कम्पनीमा निरन्तर काम गर्न चाहेमा श्रमिकले विभागबाट पुन: श्रम स्वीकृति लिनुपर्ने बाध्यकारी व्यवस्था थियो ।


प्रतिक्रिया