५० प्रतिशत अनुदानमा कृषकलाई हाते ट्याक्टर वितरण

स्याङ्जाको आँधीखोला गाउँपालिकाले पालिकाभित्र रहेका किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गर्दै ।  

पुस २१, २०७७ | स्याङ्जा

स्याङ्जाको आँधीखोला गाउँपालिकाले ५० प्रतिशत अनुदानमा पालिकाभित्रका कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । किसानलाई कृषि पेशामा आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई यन्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यले ८० वटा हाते ट्याक्टर वितरण गरिएको गाउँपालिका अध्यक्ष सुधिर पौडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा हाते ट्याक्टर वितरण गरिएको हो । ‘गाउँमा गोरु पाल्ने चलन हराइसक्यो, काम गर्ने मान्छे छैनन्,’ उहाँले भन्नुभयो, ‘कृषि सरल र सहज बनाउन किसानलाई ट्याक्टर दिएका हौं ।’ 

गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउने योजनाका साथ नीति कार्यक्रम बनाई काम गरिरहेको उपाध्यक्ष शर्मिला पौडेलले बताउनुभयो । स्वदेशमै कृषि पेसा गरेर मनग्य आम्दानी गर्न सकिने भएकोले विदेशिएका युवालाई आकर्षित गर्न अनुदानमा सहयोग गरिएको उहाँको भनाई थियो ।

भौगोलिक रुपमा विकट आँधीखोला गापामा हाते ट्याक्टरले ठूलो राहात हुने कृषहरुको भनाई छ । कृषि खेती गर्न अझै उत्साहित भएको किसानले बताए । स्थानीय कृषक तोयानाथ पौडेलले दिनभर लगाएर गोरुको सहायतामा खेतबारी जोत्न परेको सुनाउँदै अबका दिनमा भने एक/दुई घण्टामा एकहल खत जोत्न सकिने बताए । 

आर्थिक वर्ष २०७७/७८ को बजेटबाट कृषि र पशुपालनलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको भन्दै गाउँपालिकाले युवालाई कृषि पेसामा लाग्न समेत आग्रह गरेको छ । प्रति ट्याक्टरको मूल्य ५५ हजार रुपैयाँ रहेको छ । 

किसानले २७ हजार पाँच सय रुपैयाँमा ट्याक्टर प्राप्त गरेका हुन् । किसानको अत्यधिक माग भएकोले गाउँपालिकाले बजेट थप गरी दोस्रो चरणमा थप २५ जना किसानलाई ट्याक्टर वितरण गरिने जनाएको छ ।


प्रतिक्रिया