माछा किसान भन्छन्, ‘कृषिमा वैदेशिक लगानी घातक’

पुस २१, २०७७ | चितवन

माछा पालक किसानहरुले कृषिमा वैदेशिक लगानी भित्र्याउन नहुने बताएका छन् । नेपाल मत्स्य व्यवसायी संघका अध्यक्ष अम्बिका प्रसाद अधिकारीले मंगलबार विज्ञप्ति जारी गर्दै कृषिमा वैदेशिक लगानी आए किसान र देशका लागि प्रतिउत्पादक हुने बताउनुभयो । 

नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने सरकारी निर्णय गलत भएको उहाँले खारेजीको माग गर्नुभयो । यदि नीति बने संघले नमान्ने र व्यवसायिक हितका लागि थप कदमहरु चाल्ने अध्यक्ष अधिकारीको भनाइ छ ।

‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृषिका केही प्रथामिक क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने विधेयकलाई फेरि ल्याउन लागेको जानकारी संघलाई प्राप्त भएको छ । यो भनेको एक खालको वैदेशिक हस्तक्षेप हो । यसले हाम्रो अहिलेको व्यवासय जोखिममा पर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

माछामा वैदेशिक लगानी भए स्वदेशका किसानले प्रतिस्पर्धा गर्न नसक्ने संघका अध्यक्ष अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसले माछामा राज्यले दिएको अनुदान सरकार तथा वित्तीय निकायले गरेको ऋण लागानी नै जोखिममा पर्छ । स्वदेशी किसानको हातमुख जोर्ने बाटो नै समाप्त हुनेछ ।’

देश माछामा आत्मनिर्भर हुन थालेको समयमा यस्तो नीति आउन नहुने संघका अध्यक्ष अधिकारीको भनाई थियो । माछा पालन फष्टाएका कारण माछा आयतमा खर्च हुने वर्षको पाँच अर्ब जोगिएको संघले जनाएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘हामीले खेर जाने घोल, सिमसार क्षेत्र र उब्जाउ नदेखिएको जमिनलाई प्रायेग गरेर माछा पालन गरेका छौं । यसले आर्थिक आर्जन र उत्पादनमा राम्रो फाइदा दिएको छ । माछा पालन गरेर अन्य केही कुरामा प्रतिकुल असर परेको अवस्था छैन ।’

नेपालमा माछा पालन फष्टाएसँगै भारतबाट आउने कम गुणस्तरको र फर्मालिन रसायन मिसिएको माछा आयत कटौती भएको छ । नेपालमा ज्यूँदो माछा नै खोज्ने चलन व्यापक बन्दै गएको छ । ग्राहकको यो चाहनालाई माछा उत्पादक र व्यवसायीले पूरा गर्दै पनि आएका छन् । 

उहाँले भन्नुभयो, ‘हामीले निकै चुनौतिहरु बेहोरेर माछा पालन व्यवसायलाई अहिलेको अवस्थामा ल्याएका हौं । सरकारको सहयोग रहे पनि नरहे पनि हामी निरञ्तर लागेका हौं । तर हाम्रो व्यवसाय नै धाराशयी हुने गरेर वैदेशिक लगानी खुला गर्नु निकै नै दुखद विषय हो । हामी प्रतिवाद गर्दछौं ।’ 


प्रतिक्रिया