बिहीबार नेप्से हालसम्मकै उच्च बिन्दुमा

पुस २३, २०७७ | काठमाडौं

कारोबार हुने साताको अन्तिम दिन आज धितोपत्र बजार हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक आज १५ दशमलव ९१ अंकले उकालो लागेर हालसम्मकै उच्च २ हजार १ सय ९४ दशमलव ४८ बिन्दुमा पुगेको छ । 

यसअघि हिजो १३ दशमलव ७ अंकले बढेको नेप्से २ हजार १ सय ७८ दशमलव ५७ बिन्दुमा पुगेर बन्द भएको थियो । नेप्सेसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा १ अर्ब ४५ करोड रुपैयाँले वृद्धि भएको छ । नेप्सेमा हिजो ४ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेमा आज कुल २ सय ८ कम्पनीका ५० हजार ९ सय ३३ कारोबारबाट १ करोड १७ लाख ६७ हजार कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, ५ अर्ब ८७ करोड ४७ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

नेप्सेमा आज कारोबार भएका अन्य बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक उकालो लागेको छ । कारोबार भएका मध्ये उत्पादन तथा प्रशोधन समूहको उपसूचक सबैभन्दा धेरै २ दशमलव ६ प्रतिशतले बढेको छ ।  


प्रतिक्रिया