अम्रिसोको मूल्य हालसम्मकै उच्च, कृषक उत्साहित

कोशी करिडोरका पूर्वी पहाडमा उत्पादित अम्रिसो बिक्रीका लागि धरानस्थित कृषि उपज बजारमा ल्याईंदै । तस्बिर : प्रदीप मेन्याङ्बो/रेडियो कान्तिपुर । 

माघ ८, २०७७ | सुनसरी

अम्रिसो कुचोको मूल्य यो वर्ष तीन गुणाले वृद्धि भएको छ । भारतीय बजारमा अम्रिसो कुचोको माग बढेसँगै मूल्यमा पनि गत वर्षको तुलनामा तीन गुणाले वृद्धि भएको हो । अम्रिसो कुचोको मूल्य बढेसँगै कोशी करिडोरका पहाडी भेगमा अम्रिसो खेती गर्ने कृषक उत्साहित भएका छन् । 

अम्रिसो कुचोको मूल्य गत वर्ष प्रति किलो ४० रुपैयाँ रहेकोमा यो वर्ष धरानको कृषि उपज बजारको थोक बजारमा प्रतिकिलो १ सय २५ रुपैयाँ पुगेको छ । यो मूल्य कुचो बजारको इतिहासमा अहिले सम्मको उच्च हो । नेपालमा उत्पादन भएका मध्ये ९० प्रतिशत भारतीय बजारमा निर्यात हुने भएकाले अधिकांश कृषक र व्यापारीले भारतीय उपभोक्ताको मागमा निर्भर रहनु परेको छ । 

धरानस्थित कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले भन्नुभयो, ‘भारतीय बजारमा कुचोको माग बढ्दा मूल्य बढ्ने हो । तर यो वर्ष गत वर्षको तुलनामा तेब्बर बढी मूल्य बढेकाले किसान र व्यापारीहरु उत्साहित भएका छन् ।’

उहाँका अनुसार चालू आर्थिक वर्षको माघ पहिलो साता सम्ममा ४० करोड रुपैयाँ बराबरको ३ हजार २ सय १० मेट्रिक टन अम्रिसोको कारोबार भएको छ । गत वर्षको सोही अवधिमा १० करोड रुपैयाँको पनि भएको थिएन । पूर्वी पहाड र कोशी करिडोरमा आर्थिक वर्ष २०७७/०७८ मा कम्तिमा ४ हजार ५ सय मेट्रिक टन अम्रिसो उत्पादन हुने र हालकै मूल्य कायम रहे ५६ करोड रुपैयाँ बढीको कारोवार हुने भट्टराईले बताउनुभयो । 

कृषि उपज बजारमा गत आर्थिक वर्ष ०७६/०७७ मा ३ हजार ६ सय ९९ मेट्रिक टन अर्थात त्यसबेला कायम भएको ४० रुपैयाँ प्रतिकिलोको दरले १५ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो । नेपालमा उत्पादन भएका मध्ये १० प्रतिशत मात्र घरेलु स्तरमा खपत हुने गरेको छ । 

धरान–२० विष्णुपादुकाको तामाखाममा करीब ५ बिघा जग्गाको पाखा भित्तामा अम्रिसो खेती गर्दै आएका कृषक आइत राईले भने, ‘एक पटक रोपेपछि करीब २० वर्ष खासै स्याहार, गोडमेल, मल पानी लाउन नपर्ने भएकाले लागत खर्च कम हुने गरेको छ । भाउ बढ्यो भने फाइदै फाइदा छ । यो वर्ष कुचोको भाउ बढेकाले निराश हुनु परेको छैन । तर विष्णुपादुका तिर गत वर्षको तुलनामा उत्पादन केही घटेको र अरु तिर बढेको छ ।’

अम्रिसो व्यवसायी विनोद राईले माघ पहिलो साता सम्ममा करीब १० टन अम्रिसोको कारोबार भएको बताए । उनले भने, ‘मैले यो वर्ष १३ लाख रुपैयाँको कुचोको कारोबार गरें । भाउ पनि अहिले सम्मकै उच्च भएकाले धेरै फाइदा भयो । किसान पनि लाभान्वित भए ।’

उनले नेपालमा उत्पादित कुचो भारतीय बजारमा निर्यात भएपनि धरानबाटै सोझै भारतीय व्यापारीलाई बिक्री गर्न भने नसकेको बताए । पूर्वी पहाडका अम्रिसो कृषकबाट जस्ताको तस्तै कच्चा मालको रुपमा थोक मूल्यमा खरिद गरेर झापाको धुलाबारी र मोरङको विराटनगरका व्यापारीलाई बिक्री गरेपछि त्यहाँका व्यापारीहरुले थप ब्राण्डिङ, प्याकेजिङ गर्ने र ५० किलो बण्डल बनाएर भारतीय व्यापारीलाई बिक्री गर्ने गरेको राईले बताए । 

उनले भने, ‘भारत निर्यात भएपछि बण्डलबाट अम्रिसोको स्टिक झिकेर सानो–सानो मुठाको कुचो बनाएर उपभोक्ताको घरसम्म पुर्‍याउने गरेका छन् । त्यसको मूल्य अर्कै हुन्छ ।’ भारतीय उपभोक्ताको घरसम्म पुगेको कुचोको मूल्य दोब्बर हुन्छ । धरानमा कोशी पहाडी जिल्लाहरु सुनसरीको विष्णुपादुका, मोरङ्गको उत्तरी क्षेत्र, धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, खोटाङ्ग, उदयपुर र पाँचथरबाट कृषक र व्यापारले अम्रिसो ल्याउने गरेका छन् ।

बजार व्यवस्थापक भट्टराईले भन्नुभयो, ‘नेपालमै तयारी अवस्थाको कुचो बनाएर ब्राण्डिङ, प्याकेजिङ, मार्केटिङ र लेवलिङ गर्ने हो भने वार्षिक अर्ब रुपैयाँको कुचो भारत निर्यात गर्न सकिन्छ । तर त्यसका लागि सरकारले पूर्वाधार तयार गर्नु जरुरी छ ।’ उहाँका अनुसार पाखा भित्ता, खेतबारीका कान्लामा पनि हुने र मिहिनेत पनि कम हुने भएकोले पछिल्लो समयमा अम्रिसोको व्यावसायिक खेतीतर्फ कृषकहरुको आकर्षण र चासो बढेको पाइएपनि भारत निर्यात सहजै नहुने हो भने मूल्य पाउँदैन ।

उहाँले भन्नुभयो, ‘कृषक र व्यापारीलाई नेपालमा उत्पादित अम्रिसो कुचो निर्यातमा सहजीकरण गरिदिने हो भने झन् उत्प्रेरित भई खेर गएको आफ्ना डाँडापखा, कान्लामा अम्रिसो रोपेर निर्यात बढाउन सकिने र विदेशी रकम भित्रने सम्भावना देखिन्छ । तर कसैले चासो नै नदिएपछि यो भगवान भरोसे कारोबारको रुपमा चलिरहेको छ ।’ 

अम्रिसो कुचो घर सरसफाइ र धूलो, कसिङ्गर बढारकुढार गर्न प्रयोग हुन्छ । बजारमा अम्रिसोको विकल्पमा प्लाष्टिकका रेशाको कुचो पनि पाइन्छ । प्लाष्टिकको कुचोले धूलो कसिङ्गरलाई सिनित्तै नबढार्ने भएकाले अम्रिसोको कुचो नै मनपराउने गरेकाले भरतीय बजारमा नेपाली अम्रिसोको माग बढेको पाइएको छ ।


प्रतिक्रिया