विद्युत बाल्ने नाममा ५ वर्षदेखि कर्णाली नदी अधिकरण

माघ १२, २०७७ | मुगु

मुगुमा विद्युत उत्पादन गर्ने नाममा विगत ५ वर्षदेखि मुगु–कर्णाली नदीको ठूलो भू–भाग अधिकरण गरिएको भएपनि अहिलेसम्म कुनै काम भएको छैन । २०७३ सालमा कर्णाली जलविद्युत आयोजना कम्पनीले सरकारबाट अनुमति लिएर मुगुको सुम्ली गाउँदेखि भीई दोभानसम्मको करीब ३१ किलोमिटर कर्णाली नदीको ‘तीर’ विगत ५ वर्षदेखि अधिकरण गरेपनि विद्युत उत्पादनको काम भने अझै सुरु हुन सकेको छैन । 

कम्पनीले ५ वर्षदेखि मुगु–कर्णाली क्षेत्रको भू–भाग ओगटने काम गरेको र अहिलेसम्म कुनै काम अघि नबढाएको सोरु गाउँपालिका प्रमुख लोकबहादुर शाहीले बताउनुभयो । नदी अधिकरण मात्र गर्ने कामले अरु दातृ निकायलाई विद्युत उत्पादनमा कठिनाई भएको उहाँले बताउनुभयो । कम्पनी ओगटेको नदीको ३१ किलोमिटर भू–भाग सोरु गाउँपालिका भित्र पर्ने शाहीले बताउनुभयो । 

कम्पनीले १ सय ६० मेघावाट क्षमताको विद्युत उत्पादनका लागि ५ वर्षदेखि कर्णाली नदीको क्षेत्र ओगटेको भएपनि अहिलेसम्म कुनै काम अघि नबढाएपछि सोरु गाउँपालिकाका जनप्रतिनिधि स्थानीय दलका प्रतिनिधि असुन्तुष्ट देखिएका छन् । विद्युत उत्पादन गर्ने भनेर कम्पनीले नदी अधिकरण गरिसकेपछि जसरी भएपनि काम अघि बढाउनु पर्ने कांग्रेसका पूर्व पार्टी सभापति ऐनबहादुर शाहीले बताउनुभयो ।

१ सय ६० मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ विगत ५ वर्षदेखि मुगु–कर्णाली नदीको क्षेत्र ओगटेको कम्पनीका सिभिल इन्जिनियर नारायण श्रेष्ठले स्वीकार्नुभयो । पूर्व सम्भाब्यता अध्ययन वातावरणीय प्रभाव मूल्याङ्कन र पानी नापजाँच गर्ने काम भईरहेको उहाँको भनाई छ । 

आयोजनास्थमा काम सुरु हुन अझै समय लाग्ने इन्जिनियर श्रेष्ठले बताउनुभयो । जलविद्युत आयोजनाको लागि प्रति मेघावाट २३ करोड रुपैयाँ सहित कुल बजेट ५ अर्ब ३३ करोड खर्च हुने अनुमान गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया