मुगुको सोरुमा म्याद नाघेको नुन वितरण

फाल्गुन १, २०७७ | मुगु

मुगुको सोरु गाउँपालिकामा साल्ट ट्रेडिङ कर्पोरेशन र ठेकेदारले म्याद गुज्रिएको नुन वितरण गरेको पाइएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन र ठेकेदार सर्जन बुढाले सन् २०१८ मा म्याद सकिएको आयोडिन नुन सोरुका स्थानीयलाई वितरण गरेको पाइएको इलाका प्रशासन कार्यालयका प्रमुख खडगबहादुर बस्नेतले बताउनुभयो । 

२ वर्ष अघि नै म्याद सकिएको नुन वितरण गरेको थाहा पाएपछि ३ बोरो नियन्त्रण लिएको बस्नेतको भनाई छ । ठेकेदार, साल्ट ट्रेडिङ कर्पोरेसनका कर्मचारीले माघ २७, २८ र २९ गते सोरुमा उपभोक्तालाई म्याद नाघेको नुन वितरण गरेका थिए । 

‘पहिले नै धमाधम म्याद सकिएको नुन वितरण गरिसकेको रहेछ,’ बस्नेतले भन्नुभयो, ‘वितरण गरेर सकिने बेला म्याद नाघेको नुन वितरण भयो भन्ने हल्ला आएपछि नुनको पोका ल्याएर हेर्दा सहि रहेछ ।’ 

ठेकेदारले सोरुकोटमा म्याद नाघेको नुन वितरण गरेको थाहा भएपछि तारापानीमा नुन बिक्री वितरणमा रोक लगाए पनि आदेशको अवज्ञा गरी वितरण गरेको पाइएको इलाका प्रशासन कार्यालयले जनाएको छ । 

म्याद सकिएको नुन सेवन गर्दा उपभोक्ताको स्वास्थ्यमा असर पर्ने भन्दै इलाका प्रशासन कार्यालयका प्रमुख बस्नेतले गाउँका स्थानीयले नुनको म्याद नै नहेरी लैजाने गरेका कारण ठेकेदारको मनपरी हुने गरेको बताउनुभयो । 

गरीब जनतालाई जस्तो दिए पनि खान्छन् भन्ने हेतुले कहिले कुहिएको चामल, कहिले म्याद नाघेको नुन ठेकेदारले बिक्री गर्न थालेको स्थानीयको भनाई छ । 

चालू आर्थिक वर्षमा सोरु गाउँपालिकाको सोरुकोटमा ६ सय क्विन्टल र तारापानीमा ६ सय क्विन्टल आयोडिन नुन वितरण गरिएको छ । नुन वितरणमा ठेकेदार सहित साल्ट ट्रेडिङ कर्पोरेसनका कर्मचारी, जिल्ला प्रशासन कार्यालयबाट एक जना प्रतिनिधि र प्रहरी चौकी प्रमुखको रोबहरमा नुन वितरण गरिंदै आएको छ ।


प्रतिक्रिया