रुपन्देहीको मर्चवारलाई दूधको पकेट क्षेत्र बनाउन ३ वर्षे योजना

फाल्गुन ८, २०७७ | बुटवल

रुपन्देहीको मर्चवारलाई दूधको पकेट क्षेत्रको रुपमा विकास गर्न लुम्बिनी प्रदेश सरकारले ३ वर्षे योजना तयार गरी कार्यान्वयनमा ल्याएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीले मर्चवार क्षेत्रमा दूध उत्पादन कार्यक्रम सुरु गरेको छ । 

बनगाई मर्चवार रोड करिडोर आसपासका एक सय किसानहरुलाई लक्षित गरी कार्यक्रम सुरु भएको हो । पशु सेवा विज्ञ केन्द्रको ५० लाख रुपैयाँ अनुदान तथा किसानको ५० लाख २५ हजार रुपैयाँ लागतमा आयोजना सञ्चालन भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख प्रवेज आलमले बताउनुभयो । 

पहिलो वर्ष गोठ निर्माण तथा सुधार गर्ने, घाँसको बीउ तथा बेर्ना वितरण, परजीवी नियन्त्रण गर्ने, औषधोपचार, भिटामिन तथा खनिजको व्यवस्था, ईलेक्ट्रिक च्याफकटर लगायतमा अनुदान दिने आलमले जानकारी दिनुभयो । कार्यक्रम सञ्चालन गर्न किसानहरुले सञ्चालक समिति बनाएका छन् । 

आधुनिक तरिकाले पशुपालन गर्न पशु चिकित्सकहरुले तालिम दिने, व्यवसाय बिस्तार गर्न अनुदान पनि पाइने भएकाले किसानहरु उत्साहित भएका छन् । अहिले मर्चवार क्षेत्रमा उत्पादन भएको दूध भैरहवा तथा भारतको नौतनहवा क्षेत्रमा निर्यात हुँदै आएको छ । 

मुख्य पेशा कृषि, पशुपालन भएका नागरिकहरुले पनि कामचलाउ तरिकाले काम गरिरहेका छन् । पशुपालनलाई तालिम पश्चात व्यवस्थित गरी दूध उत्पादन बढाउने किसानहरुले बताए । दूध उत्पादन बढ्दै गएपछि दोस्रो वर्षदेखि डेरी सञ्चालनमा अनुदान, चिस्यान केन्द्र स्थापना, बजारीकरणमा सहयोग गर्ने कार्यक्रम छ ।

एआई सेन्टर स्थापना, घाँस स्रोत केन्द्र स्थापना, मिल्क क्यान र काउ म्याट खरिद लगायतमा अनुदान दिइने केन्द्रले जनाएको छ । पशु प्राविधिकहरुको सहकार्यमा किसानलाई प्राविधिक ज्ञान र आधुनिक तरिका सिकाई मर्चवार क्षेत्रलाई दूधको पकेट क्षेत्रका रुपमा विकास गर्ने प्रदेश सरकारको योजना छ ।


प्रतिक्रिया