वीरगञ्जमा सोना मन्सुली धान खरिदका लागि कोटा थप

कञ्चनपुरको वेदकोट नगरपालिकाको सडास्थित मिलमा किसानले बिक्री गर्न ल्याएको धान तौलिँदै । तस्बिर : भवानी भट्ट/रेडियो कान्तिपुर 

फाल्गुन १०, २०७७ | पर्सा

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले वीरगञ्ज क्षेत्रीय कार्यालयलाई सोना मन्सुली धान खरिदको कोटा थप गरिएको छ । कार्यालयका सूचना अधिकृत मुनिलाल कुशवाहाका अनुसार केन्द्रीय कार्यालयले बिहीबार पत्राचार गरी ५ हजार क्विन्टल सोना मन्सुली धान खरिदको कोटा वृद्धि गरेको हो । 

यस वर्ष सुरुमा शाखालाई ३० हजार क्विन्टल सोना मन्सुली धान खरिदको कोटा दिएकोमा शुक्रबार सम्ममा कोटा भन्दा बढी अर्थात ३० हजार ३ सय ६३ क्विन्टल ५२ किलो सोना मन्सुली धान खरिद गरी सकेको छ । कम्पनीको वीरगञ्ज क्षेत्रीय कार्यालयका सूचना अधिकृत कुशवाहाले आगामी सातासम्म थप ५ हजार क्विन्टल धान खरिद गरिसक्ने बताउनुभयो ।

 ‘हालकै गतिमा धान खरिद भई रहे आउँदो सातासम्म हामीले थप ५ हजार क्विन्टल धान खरिद गरी सक्छौं,’ उहाँले भन्नुभयो, ‘जिरा मसिनो धान भने लक्ष्य अनुरुप खरिद हुन सकेन, शुक्रबारसम्म जम्मा १ सय १६ क्विन्टल ७० किलो जिरा मसिनो धान खरिद भएको छ, यो धान ५ हजार क्विन्टल खरिदको कोटा थियो ।’ 

थप गरिएको अवधिमा जिरा मसिनो धान आउने सम्भावना रहेको सूचना अधिकृत कुशवाहाले बताउनुभयो । वीरगञ्जमा गत मंसिर ११ गतेबाट धान खरिद सुरु गरिएको थियो । पर्सा र बारा दुबै जिल्लाका किसानले कम्पनीमा धान बिक्री गर्न ल्याई रहेका छन् । 

कम्पनीले जिरा मसिनो धान प्रति क्विन्टल २ हजार ९ सय रुपैयाँ र सोना मन्सुली धान प्रति क्विन्टल २ हजार ८ सय ८५ रुपैयाँमा खरिद गरिरहेको छ । जिरा मसिनो धानको खरिद मूल्य जिल्ला स्तरीय प्राथमिक खरिद समितिले र सोना मन्सुलीको संघीय सरकारले निर्धारण गरेको हो । 

यस वर्ष किसानले धान बाली भित्र्याए लगत्तै कम्पनीले धान खरिद खुला गरेको र निजी क्षेत्र भन्दा राम्रो मूल्य दिएकाले पनि किसानले कम्पनीमै धान बिक्री गर्न ल्याएको कुशवाहाले बताउनुभयो ।


प्रतिक्रिया