भारतबाट विद्युत खरिद गर्न प्राधिकरणले पायो स्वीकृति

वैशाख २, २०७८ | काठमाडौं

नेपाल विद्युत प्राधिकरणले भारतबाट विद्युत खरिदका लागि स्वीकृति पाएको छ । भारतको ऊर्जा मन्त्रालयले ऊर्जा एक्सचेन्ज मार्केटबाट विद्युत खरिद गरेर आयात गर्न सक्ने गरी स्वीकृति दिइएको हो । 

प्राधिकरण भारतीय पावर एक्सचेन्ज मार्केटको सदस्य बनेकाले यो नेपालको ऊर्जा विकासका लागि एउटा महत्वपूर्ण कोशेढुंगा भएको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताउनुभयो । ऊर्जा एक्सचेन्ज मार्केटमा नेपालले पहुँच पाएकाले भारत हुँदै बंगलादेशसम्मको विद्युत व्यापारका लागि अर्को बाटो खुलेको छ । 

प्राधिकरणले नेपालमा खपत गरेर बढी भएको विद्युत बिक्रीको स्वीकृतिका लागि भारतमा प्रस्ताव पठाएको छ । प्राधिकरणले पहिलो चरणमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी र ४५ मेगावाटको भोटेकोसी आयोजनाको विद्युत, बर्खाको समयमा बिक्रीका लागि भारत समक्ष प्रस्ताव गरिएको कार्यकारी निर्देशक शाक्यले बताउनुभयो । 

सुक्खा मौसम र पानी नपरेका कारण खोलामा पानीको सतह घट्दा प्राधिकरण र निजी क्षेत्रको विद्युत उत्पादन घटेकाले माग र आपूर्तिको व्यवस्थापनमा चाप परेको छ । भारतीय ऊर्जा बजारबाट विद्युत खरिद गर्न स्वीकृति पाएकाले तत्काल करीब ३० मेगावाट खरिदको प्रक्रिया अगाडि बढाएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले अहिलेसम्म एनटीपीसी विद्युत निगम लिमिटेड (एनभीभीएन), पावर ट्रेड कम्पनी (पीटीसी) र बिहार, उत्तर प्रदेश र उत्तराखण्ड राज्य सरकारका वितरण कम्पनीहरुसँग विद्युत खरिद गर्दै आएको छ । 

अब भारतीय बजारबाट सोझै आवश्यकता अनुसार विद्युत खरिद गरी आयात गर्न सकिने प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले बताउनुभयो ।अब भारतीय बजारबाट सोझै आवश्यकता अनुसार विद्युत खरिद गरी आयात गर्न सकिने प्राधिकरणले जनाएको छ । 

माग बढेको तर आन्तरिक उत्पादन घटेका कारण आपूर्तिका लागि भारतबाट थप विद्युत आयात गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको कार्यकारी निर्देशक शाक्यले बताउनुभयो । 


प्रतिक्रिया